तुलसीपुर, ७ माघ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले ज्येष्ठ नागरिक राष्ट्रको गहना भएको वताउँदै सबैले उनीहरुको सम्मान गर्नुपर्ने कुरामा जोड दिएकी छिन् ।
ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्ताका लागि प्रेरक हुने वताउँदै आचार्यले नयाँ र पुरानो पुस्तालाई जोड्नका लागि सबैले ध्यान दिनुपर्ने वताईन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १४ ले आयोजना गरेको ज्येष्ठ नागरिकका लागि न्यानो कपडा र पौष्टिक आहार वितरण कार्यक्रममा वोल्दै उपप्रमुख आचार्यले ज्येष्ठ नागरिकलाई सम्मान गरेर उपमहानगरपालिकाले विभिन्न योजनाहरु ल्याएको समेत वताइन् ।
कार्यक्रममा वोल्दै वडाध्यक्ष पर्शुराम चौधरीले वडामा रहेका १ सय ६० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार वितरण गर्न लागेको जानकारी दिए । उनले दलितको हकमा ६२ वर्षभन्दा माथि र अन्य जातिको हकमा ७० वर्षभन्दा माथिका लागि वितरण गरिएको समेत जानकारी दिए ।
ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष टोपलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी नेता सीता वलीले पनि मन्तव्य व्यक्त गरेकी थिइन् कार्यक्रमको सञ्चालन सरस्वती नेपालीले गरेकी थिइन् ।











