उदय बीसी
दाङ, ८ असोज । उद्योग मन्त्रालयको टोलीले दाङको लक्ष्मीपुरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ । उद्योग मन्त्रालयका सह–सचिव मधुकुमार मरासिनिको नेतृत्वमा आएको टोलीले घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित लक्ष्मीपुरमा करिव ७ सय विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्रका लागि स्थान अवलोकन गरेको हो ।

DCCIअबलोकन पछि दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव मरासिनिले सो क्षेत्र औद्योगिक क्षेत्र निर्माणका लागि सम्भावित क्षेत्र भएको बताए ।

अवलोकन पछि आफ्नो टोलीले सर्भेको डिटेल संसदमा पेश गर्ने र संसदबाट पास भएपछि थप प्रक्रिया अघि वढ्ने उनले जानकारी दिए ।
सो अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापनका महानिर्देशक नन्दकिशोर वस्नेतले औद्योगिक क्षेत्र विकासका लागि सबैलाई सकारात्मक भएर अगाडि वढ्न सुझाव दिए ।

अवलोकन टोलीमा सिंचाइ सहरी विकास मन्त्रालयका महेशबहादुर सिंह, नापी विभागका नापी अधिकृत हरिशरण नेपाल, औद्योगिक क्षेत्र व्यवस्थापनका अधिकृत देवनारायण सापकोटालगायत सहभागीता रहेका थियो ।