सल्यान, ५ असोज । वर्षात सकिनै लाग्यो तर पनि ग्रामीण क्षेत्रमा विग्रीएका सडकहरु अझै मर्मत हुन सकेका छैनन् । सडक मर्मत नहँुदा कतै अवरुद्ध छन् भने कतै यात्रुहरुले नै ठेलेर वसलाई यात्रा बनाउछन् ।
यस्तै अवस्थामा छन् सल्यानका विभिन्न क्षेत्रका सडकहरु पनि । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित यातायातका साधनलाई ठेल्दै गन्तव्यमा पुग्न यात्रुहरू बाध्य छन् । यात्रुहरू हिलोमा फसेको गाडीलाई पटकपटक ठेल्दै, डोरीले तान्दै गन्तव्यसम्म पुग्न बाध्य भएका हुन् । बिग्रिएका सडकको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि सम्बन्धित निकायले पहल नगर्दा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
वर्षातका कारण पहिरो खस्दा सडक हिलाम्मे भई यात्रा कष्टकर बन्दै आएको छ । जिल्लाका दर्जनभन्दा बढी ग्रामीण सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् । सडकका दर्जनौं स्थानमा पहिरो खस्ने, खोलानाला, खाल्डाखुल्डी, हिलाम्मे हुनुलगायत कारण यातायातका साधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ ।
जिल्लाका श्रीनगर–स्यानीखाल, श्रीनगर–छाप, श्रीनगर–दमाचौर, श्रीनगर–कालालेख, थारमारे–दार्मा, थारमारे–चौरहजारी जस्ता ग्रामीण सडकमा यातायातका साधन ठप्प छन् । जिल्लाका खलङ्गा–लेखपोखरा, खलङ्गा–काभ्रा, खलङ्गा–बालुवासङ्ग्रही, खलङ्गा-कालीमाटी, खलङ्गा–लक्ष्मीपुरमा सवारीसाधन सञ्चालनमा छन् । तर, पनि सडकको मर्मत–सम्भार नहुँदा यात्रु समयमा गन्तव्यतर्फ पुग्न पाएका छैनन् । हिलो, खहरे खोला र खाल्डाखुल्डीले सदरमुकाम खलङ्गादेखि बाहिरिने र भित्रिने ग्रामीण सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
अहिले गन्तव्यमा पुग्न घटौं समय लाग्ने गरेको छत्रेश्वरी गाउपालिका–५ लेखपोखराका पेशल वलीले बताए । ‘हिलोमा फसेको गाडी नठेली, डोरीले नतानी निस्कँदैन । हिउँदमा धूलो तथा वर्षात्मा हिलो हुने यस सडकमा यात्रु आजित भएका छन्,’ उनले भने, ‘हल्का पानी पर्दासमेत सडक अवरुद्ध हुन्छ ।’ यी सडक स्तरोन्नति नहुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायत ढुवानीमा समेत बाधा पुगेको छ ।











