दाङ, २५ साउन । चौथो सामुदायिक वन दिवस आज शुक्रवार बिबिध कार्यक्रम गरी दाङमा मनाइएको छ ।
“सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान” भन्ने नाराका साथ दाङका स्थानीय महासंघको आयोजनामा घोराही, तुल्सीपुर, गढवा, राप्ती, शान्तिनगर, लमही, राजपुर लगायतका जिल्लाका बिभिन्न स्थानमा बृक्षरोपण तथा अन्र्तक्रिया गरी वन दिवस मनाइएको सामुदायिक वन उपभोक्ता महासंघ दाङका प्रवक्ता हेमराज शर्माले जानकारी दिए ।
जिल्ला महासंघ दाङले घोराहीमा बृक्षारोपण गरी मनाएको छ । तेजपात, टिमुर, आप, अम्बा, अनार, कागति, लिचि लगायत बिरुवा लागाइएको छ । जिल्ला महासंघ दाङका अध्यक्ष भुपेन्द सुबेदीको अध्यक्षता, जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत जगदिसप्रसाद गुप्ताको प्रमुख आतिथ्य तथा जिल्ला महासघ दाङका निवर्तमान अध्यक्ष शोभाकर सापकोटाको बिशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा महासंघका सस्थापक केन्दिय सदस्य कुल बहादुर लामिछाने, घोराही उपमहानगर वातावरण शाखाका संयोजक शक्तिमान डाँगी, महासंघका निवर्तमान सदस्य कृष्ना राना, परदेश महासंघका उपाध्यक्ष तिलकराम भण्डारी, परदेश सदस्य तारा घिमिरे, लाल बहादु भण्डारीलगायतले बोलेका थिए ।
यसैगरी राप्ती गाउँपालिका स्तरिय वन उपभोक्ता महासंघले चौथो सामुदायिक वन दिवस लालमटियामा अन्तरक्रिया गरेर मनाएको छ । त्यस्तै मुदायिक वन उपभोक्ता महासंघ गढवा इकाइ महासंघको आयोजनामा गढवा १ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा बृक्षरोपण गरिएको छ ।
यसैगरी सामुदायिक वन दिवसका अवसरमा आज शान्तिनगर वन इकाइ महासंघको आयोजनामा शान्तिनगर स्थित सुन्दर सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा बृक्षरोपण गरिएको छ ।











