काठमाडौँ, २२ साउन २२ गते । पार्टी एकता गरेको समय लम्बिदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो कमिटी अझै एकीकरण हुन सकेका छैनन् । त्यसका लागि पार्टीले तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का भ्रातृ सङ्गठन, मोर्चा, विभाग, प्रदेश, जिल्ला तथा स्थानीय समितिबीच चाँडै एकता टुङ्गो लगाउन छलफल गरेको छ ।

KP-पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो समितिहरूको एकीकरण चाँडो टुङ्गो लगाउने निष्कर्ष निकालिएको हो । केन्द्रीय समितिको मात्र एकीकरण भएको छ र बाँकीको एकीकरण नहुँदा पार्टी क्रियाशील जस्तो नदेखिएको भन्दै यसलाई चाँडै टुङ्गो लगाएर अगाडि बढ्नुपर्ने विषयमा दुवै अध्यक्षले छलफल गर्नुभएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ ।

एकीकरणका लागि बनेका विभिन्न कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने र आउँदो भदौ ५ गतेभित्र सम्पूर्ण एकता प्रक्रिया टुङ्गो लगाउने दुई अध्यक्षको निष्कर्ष छ । गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० बीच भएको एकतापछि जेठ ६ गते बसेको सचिवालय बैठकले तीन महिनाभित्र सबै सङ्गठनको एकता प्रक्रिया टुुङ्गो लगाउन निर्देशन दिएको थियो । त्यसका लागि विभिन्न कार्यदल बनेको थियो ।

एकता प्रक्रिया चाँडो टुङ्गो लगाउन कार्यदलका लागि कार्यादेश पनि बनाइएको थियो । पछि कार्यादेशले पनि काम गर्न नसकेपछि पार्टीको नियमावली समेत बनाइएको छ । सोही नियमावली र कार्यादेशका आधारमा एकता प्रक्रिया अगाडि बढेको छ । दुवै अध्यक्षबीच भएको छलफललाई मङ्गलवार बस्ने पार्टीको सचिवालय बैठकमा प्रस्तुत गर्ने समेत सहमति भएको छ ।