रुकुम, १५ साउन। मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको धौलापहिरोमा पुल निर्माण हुन सकेको छैन । निर्माण थालिएको ६ वर्षसम्म मोटेरेबल पुल निर्माण हुन नसकेको हो ।
रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिका जोड्ने पुल निर्माण नहुँदा हरेक वर्ष वर्षात्को समयमा रुकुम पूर्वको भूमे र पुथाउत्तरगङ्गा गाउँपालिका पुग्न मुस्किल हुने भूमे–३ की आशकुमारी पुनले बताइन् ।
२०६९मा निर्माण थालिएको पुल २०७४मा सम्पन्ने गर्ने सम्झौता गरिएको थियो । तर, सम्झौता अवधि थपिएको २ वर्षमा समेत पुल निर्माण नभएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले जानकारी बताए । उनले भने, ‘लामो समयसम्म पुल निर्माण नहुँदा पूर्वी रुकुममा आवतजावतमा समस्या भएको छ ।’
पुल निर्माणको ठेक्का याकथुम्हाङरबीबी जेभी सेवा कम्पनीले लिएको छ । निर्माण कम्पनीका इञ्जिनीयर राजीव मानन्धरले भने, ‘कमजोर जमीन भएका कारण आधार निर्माण तथा जग र पिल्लर तयार गर्न समस्या भएको हो । अब पुलको २ ओटा पिल्लर निर्माण भएको छ, आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न हुनेछ ।’
प्रविर ददेल /अभियान











