रोल्पा- घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

तीनैजनाको शव परीक्षणका लागि होलेरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घट्नास्थल सदरमुकाम लिवाङबाट दुई दिनको पैदल दूरीमा पर्छ ।

बाँकेमा ४ को मृत्यु

नेपालगन्ज- विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् ।

जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आकलन गर्दै समितिअन्तर्गतका विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।

विरगञ्जका आधा दर्जन वडा डुवानमा

पर्सा- दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।
महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।

वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताउनुभयो । उहाँले महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर÷घरमा पसेर समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

सडकको पानी जम्मा भएकाले विद्यार्थी लगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताउनुभयो ।