घोराही, १० असार । दाङको घोराहीमा जारी घोराही नगर स्तरीय प्रथम मेयर कप रनिङ फुटवल प्रतियोगितामा वडा नम्बर ६ र १५ फाइनलमा प्रबेश गरेका छन् । शनिबार बिहान भएको खेलमा वडा नम्बर १८ लाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै वडा नम्बर ६ फाईनलमा पुगेको छ । वडा नम्बर ६ का प्रकाश बुढा र सुरेन्द्र भण्डारीले एक एक गोल गर्नुभयो भने वडा नम्बर १८ का आशीस पुनले एक गोल गर्नुभयो । त्यसैगरी दोस्रो चरणमा भएको वडा नम्बर ७ र वडा नम्बर १५ को खेलमा वडा नम्बर १५ ले ७ लाई १ का बिरुद्ध ४ गोलले पराजित गरेको छ ।
वडा नम्बर १५ का सविन वलीले ह्याट्रिक गर्दै एक्लैले ४ गोल गर्नुभयो भने वडा नम्बर ७ का सम्राट शाहले एक गोल गर्नुभएको दाङ जिल्ला फुटवल संघका महासचिब नरेन्द्र पुनले जानकारी दिनुभयो ।फाईनलमा प्रबेश गर्ने वडाहरु वडा नम्बर ६ र १५ बिच पर्सि दिउसो हुने खेल सँगै समापन गरिने भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम मेयर कप रनिङ फुटवल प्रतियोगिता जेठ २५ गते देखी जारी छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, कप सहित प्रमाणपत्र र दोस्रो हुनेलाई ५० हजार, कप र प्रमाण पत्र पुरस्कार रहेका छ । प्रतियोगितामा प्राबिधीक सहयोग दाङ जिल्ला फुटवल संघले गरिरहेको छ ।।











