गोरखा, ८ असार । गाउँबाट पृथ्वी राजमार्गमा दिनहुँ हजारौं गाडि गुडिरहेको सजिलै देखिन्छ । घरको छाना माथिबाट केवलकारमा मनकामना मन्दिर दर्शनका लागि सयौंको संख्यामा भक्तजनहरु आउजाउ गर्छन । त्यहि नजिकको गाउँ केउरपानीका गाउँलेहरु पानी लिनका लागि प्रत्येक पटक दुई घण्टाको यात्रा गर्दथ्ये । घण्टौं यात्रा गरेर पानी बोक्न बाध्य यहाँका नागरिकहरु यतिबेला भने खुशि भएका छन् । पटक पटक सम्बन्धित निकायमा निवेदन दिदाँ सुगम स्थान भनेर कसैले योजना बनाउन मानेका थिएनन् तर रेडक्रसका मनकामना उपशाखा सभापतिले आफूले पहल गर्ने भनेपछि आफू आशावादी भएको र हाल आएर योजना सम्पन्न भएको भन्दै साविकको मनकामना गाविस वडा नंं ३ स्थित केउरपानीका गाउँलेहरु खुशि भएका छन् ।

भूकम्प आउनु अघि नै काकाकुल थियौं, भूकम्प पछिको समस्या सुनाएर साध्य छैन भन्नुहुन्छ स्थानीय जलदेवि महिला समूहकी सदस्य मिरा गुरुङ । काकाकुल भएर पानी पीडित भएका हामीहरुलाई रेडक्रसको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गतको योजनाबाट आठ घनमिटरको ट्याङ्की र ५ वटा धारा निर्माण गरी चौविसै घण्टा पानी सुविधा दिएको प्रति प्रशंसा गर्ने कुनै शब्द नै आफूसँग नभएको अर्की सदस्य तारा गुरुङले बताउनुभयो ।

झण्डै सात लाख भन्दा बढीमा निमार्ण भएको उक्त आयोजनाको आज एक कार्यक्रमका वीच अधेरी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाका सभापति भगवानबाबु मास्केले पानीको धारा खोली पानी पियर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै उहाँले धाराको संरक्षण गर्ने जिल्ला उपभोक्ता समूह लगायत यहाँका नागरिकहरुको भएको उहाँले बताउनुभयो । यहाँ आवश्यक कार्यक्रमहरु उपशाखा मार्फत माग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाका निवर्तमान सभापति यदु विलास भट्टराई, मन्त्री राजेन्द्र्र न्यौपाने, मनकामना उपशाखाका सभापति पृथ बहादुर थापा, समाजसेवी दिनेश जोशी, उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर गुरुङ, भूकम्प प्रतिकार्य कार्यक्रमका गोरखा जिल्ला संयोजक शिव प्रसाद सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका बक्ताहरुले पानीको संरक्षण, धारा संरक्षण गर्न सके बर्षौ सम्म ढुक्कले पानी पिउन सकिने बताएका थिए । २०३१ सालमा रेडक्रस मार्फत बनेका योजनाहरुका धारामा अहिलेसम्म निरन्तर पानी आईरहेको समेत कार्यक्रममा बताइएको थियो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गोरखामा नेपाल रेडक्रस सोसाईटीले बेल्जियम रेडक्रस, जर्मन रेडक्रस र नेदरल्याण्ड रेडक्रसको साझेदारीमा ५१ वटा आयोजना सम्पन्न गरिसकेको नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले बताउनुभयो ।