खाँदवारी, ३ असार । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ मार्गमा पुरिएका चार जना मजदुरको ३८ घण्टापछि जिवितै उद्धार गरिएको छ । शुक्रबार राति ८ बजेर ४० मिनेट जाँदा सुरुङमा फसेका उनीहरुलाई आज आइतबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।

arun-3-dame-landscaसुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्धार गरेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा उद्धार टोलीले ठूलो ढुंगामा प्वाल पारेर उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएकाले डोरीको प्रयोग गरेर उद्धार गरेको बताइएको छ । परियोजनाको बाँध निर्माणस्थलमा पहिरो खस्दा उनीहरु थुनिएका थिए ।