दाङ, ६ बैसाख । यस वर्षको लिटिल मिस दाङ २०१८ की विजेता आयुष्मा खड्कालाई हिंजो घोराहीमा सम्मान गरिएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, दाङ शाखाका अध्यक्ष सबिन प्रियासन, निवर्तमान अध्यक्ष सुदीप गौतम, पूर्व अध्यक्ष केएल पीडित, शाखा सचिव भुपेन्द्र वली, पूर्व उत्सर्ग स्टार समीक्षा पौडेल र उत्सर्ग फिल्मस् नेपालकी सल्लाहकार देवका पौडेलले खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

सम्मान ग्रहणपछि लिटिल मिस आयुष्माले यो सफलताबाट आफू निकै उत्साहित भएको बताइन् । ‘म निकै उत्साहित छु । अब सबैको साथ र सहयोगबाट म सामाजिक कार्यमा लाग्नेछु ।’ आयुष्माले बताइन् ।

बैसाख २ गते घोराहीमा भएको प्रतिष्पर्धामा १२ जनालाई उछिनेर आयुष्माले लिटिल मिस दाङको ताज पहिरिएकी थिइन् । घोराही १५ निवासी उनी जनज्योति विद्यामन्दिरमा कक्षा ६ मा पढ्दैछिन् ।