उदय बीसी
दाङ, ४ चैत । दाङको पर्यटन उद्योगमा करीव ६ अर्ब लगानी भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा मात्रै पर्यटन उद्योगतर्फका ६ सय २२ उद्योगमा ५ अर्ब ९४ करोड ९० लाख ८२ हजार १ सय। लगानी भएको छ । पर्यटन उद्योगअन्तर्गत होटल तथा रेष्टुरेन्टहरुमा यो लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी वामदेव शर्माले जानकारी दिए ।
अहिलेसम्म कार्यालयमा दर्ता भएको करीव ८ सय ८१ उद्योगहरुमध्ये सबैभन्दा वढी पर्यटन उद्योगमै लगानी वढी भएको कार्यालयले जनाएको छ । ८ हजार ८१ उद्योगको करीव १३ अर्ब २९ करोड ६६ लाख ७५ हजारमध्ये सबैभन्दा वढी ५ अर्ब ९४ करोड ९० हजार रुपैयाँ पर्यटन उद्योगमै लगानी भएको छ ।
कार्यालयका अनुसार उत्पादन मूलक एक हजार २७ उद्योगमा २ अर्ब ३२ करोड ७ लाख २ हजार सात सय, कृषि तथा वनजन्य एक हजार ३ सय ९३ उद्योगमा २ सअर्ब ४२ करोड ९५ लाख ६१ हजार ५ सय रुपैयाँ, सेवा मूलक १ हजार ६ सय एक उद्योगमा २ अर्ब ३९ करोड २४ लाख ६९ हजार १ सय ४४ रुपैयाँ र निर्माण सम्बन्धी २ सय ५५ उद्योगमा ६० लाख २९ हजार रुपैयाँ लगानी भएको छ ।
पछिल्लो समयमा घरेलु कार्यालयमा उद्योग दर्ता हुने क्रम वढेपछि सञ्चालनमा सबै उद्योग छैनन् । कार्यालयका अनुसार दर्ता भएका उद्योगमध्ये करीव २५ प्रतिशत उद्योग बैंकबाट ऋण लैजानका लागि मात्रै दर्ता भएका छन् । उद्योग दर्ता गर्दा स्थलगत अध्ययन गर्ने प्राव्धान नहस्ुँदा यो चुनौती थपिएको छ ।
यस्ता उद्योग दर्ताले घरेलु तथा साना उद्योग कार्यालयमा राजस्व त बृद्धि गर्ला तर यसले उत्पादनमा समस्या गर्ने गर्दछ । ‘घरेलु कार्यालयमा उद्योग दर्ता छ तर त्यो उद्योग खोज्दै जाने हो भने भेटिदैन’ एक कर्मचारीले भने, ‘यो समस्या वढ्दै गएको छ ।
अब स्थानीय सरकार आइसकेकाले उद्योग दर्ता गर्दा पहिले नै त्यसको स्थलगत अध्ययन गरेर उद्योग निर्माण कार्य सम्पन्न गरे मात्रै चरणवद्ध रुपमा उसको दर्ता प्रमाणपत्र दिनुपर्ने आवश्यकता देखिएको छ । बैंकहरुले पनि ऋण लगानी गर्नका लागि उद्योगको प्रमाणपत्रको प्रतिलिपि उपलव्ध गराएपछि र घरजग्गाको आधारमा लगानी गरेको पाइन्छ ।
