इन्द्रेणी संवाददाता
काठमाडौं, ७ फागुन । आज ६८ औं प्रजातन्त्र दिवस अर्थात आजकै दिनबाट नेपालीले निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्ति पाएको दिन । यो दिवसलाई आज विविध कार्यक्रमको आयोजना गरी दशैभर मनाइदैछ ।
भारतमा निर्वासित जीवन व्यतीत गरिरहनुभएका तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव फागुन ४ गते स्वेदश फर्की फागुन ७ गतेका दिन १०४ वर्षदेखि शासन गर्दै आएको राणा शासन अन्त्य गरी जनताको लागि जनताले नै शासन गर्न जनप्रतिनिधिको संविधान परिषद् गठन गर्ने घोषणा भएको थियो ।
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा भएको राजा, राणा र नेपाली काँग्रेसबीच मुलुकमा प्रजातान्त्रिक व्यवस्था ल्याउने सहमतिअनुसार राजा त्रिभुवन स्वदेश फर्किएका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते ठूलो हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाउने गरिन्छ । यो दिन सरकारले सार्वजनिक बिदा समेत दिँदै आएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ६८औँ प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् । ’
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार जारी गरेको शुभकामना सन्देशमा देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सन्दर्भमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ । उनले दिवसका अवसरमा सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सन्देशमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भइसकेको सन्दर्भमा मुलुकको आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु, शुभकामनामा भनिएको छ ।











