काठमाडौं, २६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकार गठनपछि पार्टी एकता गर्ने सहमति भएको छ । ललितपुरस्थित एक व्यवसायीको घरमा बिहीबार बसेको गोप्य बैठकमा उनीहरू सरकार गठनपछि पार्टी एकता गर्ने विषयमा सहमति भएका हुन् ।

Prachanda-KP-Oli-talkingकरिब तीन घण्टा चलेको गोप्य वार्तामा ओली र दाहालले सरकार गठनअघि नै पार्टी एकताको खाका तय गर्ने सहमितिसमेत गरेका छन् । पार्टी एकता नगरी सरकार गठन गर्दा एकता हुने या नहुने भन्ने विषयमा शंका उत्पन्न हुने भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार गठनअघि नै पार्टी एकताको खाका तय हुनुपर्ने प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावपछि ओलीले शुक्रबार संयोजन समितिको बैठक बोलाएर छलफल गर्ने र समितिले खाका तयार पार्ने विकल्प अघि सारेपछि दाहाल त्यसमा सहमत भएका हुन् ।

एमालेका एक नेताका अनुसार ओली र दाहालबीच सरकार निर्माण र पार्टी एकताका विषयमा गोप्य छलफल भएको हो । पछिल्लो समय पार्टी एकताका विषयमा फरक विचार बाहिर आएको भन्दै दुवै नेताले गठबन्धन बन्दा निर्वाचनमा पुगेको फाइदालाई मध्यनजर गरेर यसलाई दिगो बनाउन दुवै दल गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

दुवै नेताले सरकार निर्माण गर्दा कुन पार्टीको कति जना मन्त्री बनाउने भन्ने विषयमा पनि संयोजन समितिमा छलफल गरेर टुंगोमा पुग्ने सहमति गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै अब बन्ने सरकार र एकीकृत पार्टीको मोडालिटीका विषयमा थप छलफल गर्न एकता संयोजन समितिको बैठक बस्नुपर्ने अध्यक्षद्वयको निष्कर्ष छ । राजधानीबाट