नवीन लोचनमगर
रोल्पा । प्रतिनिधि सभा सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले केही दिनअघि भएको आगलागी पीडितको घर पुनर्निर्माण गर्ने घोषणा गरेका छन् । त्यसका साथै उनले गाउँपालिकासँगको सहकार्यमा पञ्चीकोट गाउँका सबै खरका छाना हटाउने बताएका छन् ।
गत माघ १३ गते जिल्लाको सुवर्णावती गाउँपालिकाको वडा नं. १ पञ्चीकोट गाउँमा आगलागी हुँदा ६ घर र एक भान्साकोठा पूर्णरुपमा जलेको थियो ।
आगलागी भएका घरको पुनर्निर्माण गरिने
रोल्पा–काठमाडौं सम्पर्क मञ्चले बुधबार पञ्चीकोट गाउँमै पुगेर आगलागी भएका ६ घरको पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।
मञ्चले अनन्तलाई अघि लगाएर पञ्चीकोट पुगी विभिन्न सामग्रीसमेत पीडितलाई हस्तान्तरण गरेको छ । ‘आगलागी भएको खबर सुन्नेबित्तिकै मञ्चको बैठक काठमाडौंमा बस्यौं’ रोल्पा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जीवन रोकामगरले भने, ‘तत्कालका लागि केही राहत दिने र दीर्घकालीन हिसावले घर पुनर्निर्माण गरिदिने निर्णयसहित यहाँ आएका हौं ।’
मञ्चले बुधबार वर्षमान पुनलाई प्रमुख अतिथि बनाउँदै विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जसअन्तर्गत २१ बोरा चामल, २५ पोका नुन, २५ केजी दाल, ६ थान गाग्री, १२ थान बलांकेट, १६ थान कम्बल, १२ वटा थाली र १ कार्टुन तेलसहित केही लत्ताकपडा रहेका छन् ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विकले आगलागी पीडित विद्यार्थीहरुलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए ।
खरको छानो हटाएर जस्तापाता
आगलागी भएको पञ्चीकोट गाउँमा रहेका करिब ५० खरका छानो हटाइने भएको छ । प्रतिनिधिसभा सदस्य वर्षमान पुनले गाउँमा रहेका सबै खरका छानो हटाई जस्तापाटा राखिदिने घोषणा गरे ।
‘सांसद सुरक्षित आवास कार्यक्रममार्फत् २५ घरमा जस्तापाता राख्ने व्यवस्था मैले गर्नेछु’ अनन्तले भने, ‘बाँकी २५ घरमा गाउँपालिकाले गर्नेछ, गाउँपालिकासँगको सहकार्यमा पञ्चीकोट रंगीन गाउँ हुनेछ ।’
अनन्तले आफूले निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा पाँच वर्षमा रोल्पाबाट खरको छानो उन्मुलन गर्ने अभियानअन्तर्गत यो कार्य गरिएको स्पष्ट पारे ।
रोल्पामा करिब २२ हजार घर खरको छानो भएको भन्दै अनन्तले एउटा कोष बनाएर स्थानीय सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा खरको छानो हटाउने अभियान सफल पार्ने विश्वास व्यक्त गरे ।
गाउँपालिकाले यसै आर्थिक वर्षमा काम सम्पन्न गर्ने गरी २ सय खरको छानो भएको घरमा जस्तापाता लगाउने निर्णय नै गरेको छ । सुवर्णावती गाउँपालिकाको वडा नं. १ मा २५ घरमा जस्तापाता लगाउने निर्णय भएकोमा यो वर्ष पञ्चीकोटबाटै उक्त कार्यक्रम सुरु गरिने गाउँपालिकाले जनाएको छ ।
आगलागी भएका घरहरुको निरीक्षण
नेता वर्षमान पुनले पञ्चीकोटमा आगलागी भएका ६ घरहरुको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि स्थानीयसँग बाटोघाटो, विद्युत विस्तार लगायतका कार्यमा पहल गर्ने आश्वासन समेत दिए । पञ्चीकोट साविक घोडागाउँको वडा नं. ६ पर्छ ।
वर्षमानसँगै त्यहाँ पुगेका पूर्वसभामुख ओनसरी घर्तीमगरले जनयुद्धकालमा आगलागी भएकै घरमा आफू बसेको स्मरण गरे । युद्धकालमा माओवादीले पञ्चीकोटलाई नमुना गाउँको नाम दिएर गतिविधि गरेको थियो ।
फागुन दोस्रो सातासम्म वाम सरकार
नेकपा माओवादी केन्द्रका प्रदेश पाँचका इन्चार्जसमेत रहेका अनन्तले फागुन दोस्रो सातासम्म मुलुकलाई स्थायित्व दिने गरी वाम सरकार निर्माण हुने बताए ।
वाम एकता भाँड्न केही शक्ति विभिन्न आश्वासन दिँदै लागेको दावी गर्दै अनन्तले अब केन्द्र सरकारको जिम्मेवारी बाँडफाँट र एकता मात्र बाँकी रहेको बताए । उनले सबै कुरा मिलिसकेको र घोषणा गर्न बाँकी भएकाले यसमा कसैले शंका नगर्न आग्रह समेत गरे ।
अनन्तले वाम एकता भाँड्नका लागि माओवादी र एमालेभित्रका अवसरवादीहरुको सक्रियता बढेको बताए । पार्टी एकताका लागि दुई दलीय कार्यदल तथा बाहिरसमेत आफू सक्रिय भएको यथार्थ बुझ्दाबुझ्दै एकता विरोधी भनी बदनाम गराउने प्रयास गर्नुुले अवसरवादीहरु नै एकता भाँड्न सक्रिय भएको पुष्टि हुने उनले बताए ।
अनन्तले भने ‘केही दिनअघि अध्यक्ष प्रचण्डले समेत यस कुराको खुलासा गरिसक्नुभएको छ, जुनशक्ति एकता भाँड्न माओवादीको पछि लागेको थियो, अहिले त्यही शक्ति एमालेको पछि लागेको छ, मलाई विश्वास छ एमालेका साथीहरु पनि एकता प्रक्रियाबाट टाढा जानुहुने छैन ।’
रोल्पा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जीवन रोकामगरको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यता रहेको थियो भने पूर्व सभामुख ओनसरी घर्तीमगरको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सम्पर्क मञ्चका इन्चार्ज चित्रबहादुर घर्तीमगर ‘गुलाफ’ले राहत वितरण तथा संस्थाका बारेमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा मञ्चका सहसचिव युवराज डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विक लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पवन कुवरले गरेका थिए ।