इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । राष्ट्रिय सभाका लागि आज बुधवार भएको मतदान प्रदेश नम्बर प्रदेशमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सकिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश नं. ५ का १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ जना र प्रदेश सभाका ८७ सदस्य गरी ३ सय ५ जना मतदाता रहेका पनि दुई जना भने मतदानमा सहभागी नभएको बताइएको छ । यसरी अनुपस्थिती हुनेमा रुपन्देहीका राष्ट्रिय जनता पार्टीका सांसद विना पन्त र समाजवादी फोरम नेपालबाट बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित इस्तियाक अहमद साह छन् । मदतान सकिएको र आजै साँझबाट मतगणन शुरु गर्ने पनि मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रिय सभाका लागि ५ नम्बर प्रदेशबाट ८ जना निर्वाचित हुनुपर्नेमा तीन जना महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एमालेका तर्फबाट रोल्पाकी मीना बुढा र दाङबाट कोमल वली र नेपाली काग्रेसको तर्फबाट अनिता देवकोटा निर्विरोध भइसकेकी छन् ।
यस प्रदेशबाट अब पाँच जनको सिटमा प्रतिस्पर्दा हुँदैछ । जसमा दलित सदस्यमा एमालेका रामलखन हरिजन र नेपाली कांग्रेसका मैकुलाल बाल्मीकीबीच प्रतिस्पर्धा हुँदैछ भने अन्य तीन सदस्यहरुमा एमालेका खिमलाल भट्टराई, माओवादीका चन्द्रबहादुर खड्का, नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीबीच प्रतिस्पर्धा हुँदैछ ।











