तुलसीपुर २० माघ । गुरुकुल सञ्चालनमा ल्याउन तुलसीपुरमा महापुरण सञ्चालन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ रजौरामा रहेको लक्ष्मीनारायण मन्दिरको आयोजनामा महापुरण सञ्चालन हुने भएको हो । आयोजकले तुलसीपुरमा पत्रकार सम्मेलन गरी यहि फागुण २ गते देखि ९ गते सम्म मन्दिर परिसरमा महापुरण सञ्चालन हुने जनाएको हो ।
वैदिन सनातन हिन्दू धर्मको मूल आधार वेद र व्याकरणलगायत लोप हुने अबस्थामा रहेको भन्दै यसलाई जोगाईराख्न गुरुकुल आबश्यक रहेको मूल आयोजक समितिका संयोजक खिम प्रशाद खरेलले वताए । अहिले देवघटमा मात्रै गुरुकुल कक्षा सञ्चालन भईरहेको भएपनि देवघट देखी पश्चिममा कुनै पनि ठाउमा गुरुकुल सञ्चालनमा छैनन् । त्यसैले दाङमा गुरुकुल शिक्षा सञ्चालनमा ल्याउन महापुरण सञ्चालन गर्न लागिएको हो ।
गुरुकुलले बिद्यार्थीको दैनिक जीवनमा आबश्यक ज्ञान, सीपमा आधारित अभ्यासमुलक शिक्षा दिने भएकाले पनि दाङमा अतिआबश्यक रहेको संयोजक खरेलले वताए । अहिले समाजलाई अत्यावश्यक पर्ने कर्मकाण्डको पठनपाठन गराई वैदिक धर्मसंस्कृतिमा प्रचलित सोह्र संस्कारका साथै अन्य बिबिध नित्य–नैमितिक धार्मिककर्महरु गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न गुरुकूल आबश्यक रहेको उनको भनाई छ ।
महोत्सब सञ्चालनको लागि आबश्यक तयारी भईरहेको अध्यक्ष खरेलले वताए । उनका अनुसार महापुरण सफल पार्न राम बहादुर खत्रीको संयोजकत्वमा आर्थिक उपसमिति, नबराज रजौरेको संयोजकत्वमा प्रचारप्रसार उपसमितिलगायत १३ वटा उपसमिति गठन गरिएको छ । महापुरणमा मन्दिर संस्थापक एवं मठाघिश मधुसूदनाचार्य वेदान्ती जी र स्वामी केशवाचार्य ( सूर्यपाकी) रहेका छन् ।