बारा, १७ माघ । बाराको जितपुर सिमरा उपमहानगर र कोल्हबी नगरपालिका क्षेत्रमा निर्माण तयारी थालिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिन थालेको छ ।

nijgad_airport1विमानस्थल निर्माण क्षेत्रमा चार किल्ला छुट्याउने कार्य सम्पन्न भएसँगै मुआब्जामा असन्तुष्टि देखिएका स्थानीय कोल्हबी नगरपालिका काँटगाउँका स्थानीय बासिन्दाले विमानस्थल आयोजनामा धमाधम निवेदन दिन सुरु गरेका छन् ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि मुआब्जा वृद्धिको आवाज उठाइरहेका स्थानीय अहिले मुआब्जा लिन अग्रसर भएका हुन् । राजधानीमा खबर छ- विमानस्थल निर्माणका लागि छुट्याइएको ११ हजार ८७५ बिघा क्षेत्रफलमध्ये विमानस्थल क्षेत्रभित्र पर्ने ११० बिघा जमिनको लालपुर्जा भएका नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल देखिएको छ ।

अहिले काँटगाउँ र ककडीका अधिकांश स्थानीयले मुआब्जा लिन आयोजनामा निवेदन दिइसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सिमरा बाराका वरिष्ठ अधिकृत विजय यादवले बताए ।विमानस्थलको पश्चिम सिमानामा पर्ने राजमार्गसँगैको पसाहा खोला किनारमा ७५० मिटर लम्बाइको तटबन्ध निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ । सो तटबन्ध निर्माण गर्न आयोजनाले अघिल्लो आर्थिक वर्षको फागुनमा पप्पु राजेन्द्र जेभी कन्स्ट्रक्सनलाई ७ करोड ५४ लाख ५० हजार रुपैयाँमा ठेक्का दिएको थियो । आयोजनाले काँटगाउँमा मेट्रोलोजिकल डाटा मापन अत्याधुनिक यन्त्रसमेत जडान गरिसकेको छ । यसबाट हावाको गति, दिशालगायतका तथ्यांक संकलन गरी विमानस्थलको धावनमार्ग निर्माणको अनुसन्धान भइरहेको छ ।

आयोजना निर्माणको बीच भागमा बसोबास गरिरहेका टाँगियाबस्ती व्यवस्थापनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ईआईए० अनुसार काम अगाडि बढ्ने आयोजनाले जनाएको छ । सिमरा कार्यालयका अनुसार सो प्रतिवेदन वातावरण मन्त्रालयमा बुझाएपछि मन्त्रालयले सरोकारवाला निकायबाट प्रमाणीकरण गरी सोही आधारमा बढीमा दुई महिनाभित्र बस्ती व्यवस्थापन र रूख कटान कार्यको थालनी गरिने भएको छ ।