तुलसीपुर १६ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको स्थल छनोटका लागि वृहत छलफल गरेको छ । उपमहानगरपालिकामा सरोकारवालाहरुसँग भएको छलफलमा वडा नम्वर ४,५,६,७ र ९ लाई आधार वनाएर ठाउँको खोजि गरिने भएको विपद् व्यवस्थापन तथा वातावरण समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार तोकिएका वडामा रहेका सामुदायिक वन, खाली जमिन र अन्य कुनै ठाउँमा फोहोर व्यवस्थापन गर्न इच्छुक भए वडामा छलफल गराएर अनुरोध पठाउन समेत आग्रह गरिएको छ । छलफललाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले फोहर व्यवस्थापनलाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि उपमहानगरले आगामी वर्षदेखि विशेष काम थाल्ने वताए । पाण्डेले फोहरलाई अभिशाप होइन वरदान वनाउनका लागि प्रविधिको प्रयोगमा आफुले चासो दिएको समेत वताए ।
फोहोरलाई मोहोर वनाउने अभियान सञ्चालन गरिरहेका जीवन थापाले सहजिकरण गरेको कार्यक्रममा ग्रिन तुलसीपुर क्लिन तुलसीपुर सरसफाई अभियानका सञ्चालक विमल रिजालले नीजि क्षेत्रले पनि फोहोर व्यवस्थापनका लागि समन्वयकारी भुमिका खेल्ने वताएका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु वालकृष्ण राना, विरेन्द्र शाह, टोपवहादुर केसी र घनश्याम ढकालले फोहोर व्यवस्थापनका लागि वडाले विशेष पहल गर्ने वताएका थिए । छलफल कार्यक्रममा एमालेका पदम केसी र काँग्रेसका भिमवहादुर भण्डारीले पनि मन्तव्य राखेका थिए ।











