इन्द्रेणी संवाददाता
काठमाडौँ, १५ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने बताएका छन् ।
प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज सोमवार आयोजित कार्यक्रममा प्रचण्डले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोधलाई चिरेर अगाडि बढ्ने बताए ।
राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्प गरेर जानुपर्नेमा जोड दिँदै उनले भने “जनताको अपेक्षा पूरा गर्न नयाँ संकल्प जरुरी छ । राजनीतिक स्थायित्वलाई पूर्णता दिन पनि आर्थिक क्रान्ति जरुरी छ ।” देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले त्यस्तो प्रयासलाई सफल हुन नदिने विश्वास व्यक्त गरे ।
सरकारका पछिल्ला गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले आर्थिक अराजकता देखिन खोजेको र त्यस्तो प्रयास भइरहेकाले वाम गठबन्धनले त्यसलाई बाहिर निकालेर छाड्ने बताएका थिए ।