प्रदेश नम्बर ५ मा संसदको पहिलो बैठक आगामी २१ माघमा हुने प्रदेश प्रमुख उमाकान्त झाले जानकारी गराए । उनले २१ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको बताए । बुटवलस्थित उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठक आह्वानको सूचना आइतवार प्रकाशित गर्ने प्रदेश सचिव सनतकुमार दवाडीले बताए ।

बैठक कसरी अगाडि बढ्छ

प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशको बैठक सुरु भएपछि जेष्ठ सदस्य वलदेव शर्मा पोखरेलले कार्यसूची तोक्ने र सोही अनुरुप बैठक अगाडि बढ्ने बताए । आइतवार प्रदेश प्रमुखसँग भेट गरेर आवश्यक छलफलपछि कार्यसूची बारे प्रष्ट्याउने उनले जानकारी दिए । पोखरेलले आफ्नो कार्यालय र सहायक कर्मचारी नभएका कारण कामकारबाहीमा केही अप्ठ्यारो भएको नयाँ पत्रिकासँग गुनासो गरे ।

संसद भवनको तयारी कस्तो ?

संसद बैठकका लागि आवश्यक फर्निचरको व्यवस्थापन, कार्यकक्ष व्यवस्थित गर्नेलगायतका कामले अझैँ पूर्णता पाएको छैन । सो कामको व्यवस्थापनका लागि रुपन्देहीका प्रजिअ हरिप्रसाद मैनाली तथा शहरी तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरसहितको टोली जुटिरहेको प्रदेश प्रमुख झाले बताए । प्रजिअ मैनालीले प्रदेश राजधानी अस्थायी भएकाले व्यवस्थापनका काम पनि अस्थायी रुपमै भइरहेको बताए ।

उनले सांसदहरुका लागि आवश्यक पर्ने कुर्सीसहित अन्य व्यवस्थापनका कामले अब गति लिने विश्वास व्यक्त गरे । सो कामका लागि आवश्यक कर्मचारीहरु आइतवारबाटै खटिने उनले बताए ।

खै कर्मचारी ?

सरकारले अस्थायी प्रदेशिक राजधानी तोकेको हप्तौँ वित्दा पनि बुटवलमा आवश्यक कर्मचारी अझैँ आइपुगेका छैनन् । रुपन्देहीका प्रजिअ मैनाली तथा भवन डिभिजन कार्यालयका प्रमुख ठाकुरसहितका केही टोलीले शपथ ग्रहण गरी काम सुरु गरिरहेका छन् । तर, केन्द्रबाट खटिएका एक जना प्रदेश सचिव सनतकुमार दवाडीले व्यवस्थापनका काममा एक्लै गर्दै आएका छन् । दवाडीका अनुसार केन्द्रबाट एक जना उपसचिव बुटवल आइपुगेका भएपनि अन्य कर्मचारी शनिवारसम्म बुटवल आइपुगेका छैनन् । तोकिएका कर्मचारी चाँडै आउने उनले बताए ।

भवनको तयारी कसरी हुँदैछ ?

प्रदेश प्रमुखको निवासदेखि मुख्यमन्त्री कार्यालय तथा मन्त्री कार्यालय एंव निवासहरुका बारेमा प्रमुख जिल्ला अधिकारी तथा भवन डिभिजन कार्यालयका प्रमुखसहितको टोलिबाट काम भइरहेको छ । नयाँ प्रयोगमा मुलुक अगाडि बढेको अवस्थामा सुविधाजनक आवास तर्फ भन्दा पनि मुलुकको हितमा आफ्नो ध्यान गएको प्रदेश प्रमुख झाले बताए । उनले कार्यालय, सचिवालयको भवन तथा संसद भवनको टुंगो लागिसकेको र प्रदेश सांसदहरुले शपथ ग्रहण तथा प्रदेश प्रमुखले कार्यभार समाल्दै आएपनि अन्य भवनको अन्तिम टुंगो लागेको छैन ।

रुपन्देहीका प्रजिअ मैनालीले विगतमा भएको अध्ययनका आधारमा काम अगाडि बढेको स्पष्ट पारे । उनले सबैका लागि आवश्यक पर्ने भवनहरु रहेको भन्दै उत्कृष्ट विकल्प तय गरेर काम बढाइने पनि बताए । कतिपय भवन तयार हुँदैछन्, ‘कतिपय मर्मतको आवश्यकता छ, मर्मतका लागि बजेट आइसकेको छ, पदीय गरिमा कायम राख्ने गरी व्यवस्था गर्छौँ’, प्रजिअ मैनालीले भने । नयाँ पत्रिकामा खबर छ।

united montessori add