प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटवल तोकिएसँगै धेरैको ध्यान बुटवलतिर तानिएको छ । धेरैको चासो पनि थियो– नेपालकै इतिहासमा पहिलोपटक गठन भएको प्रदेशसभाका सदस्यहरुको शपथ कस्तो हलमा होला ?
धेरै ठाउँमा सभाहल खोजेपछि बल्ल फेला प¥यो– रुपन्देही उद्योग वाणिज्य संघको हल । शपथ नै संस्थाको हलमा गर्नुपरेपछि बुटवलमा प्रदेश संरचनाको पूर्वाधार कति रहेछ, १२ जिल्लाबाट आएका प्रदेशसभा सदस्यहरुले मज्जाले देख्न पाए ।
योभन्दा प्रदेश सदस्यहरुलाई अझ नरमाइलो त के भयो भने उनीहरुले शपथ लिंदा मञ्चमा अतिथि बनाइएका व्यक्तिहरुको हैसियत । मञ्चमा कुनै सरकारी जिम्मेवारी नभएका बुटवल क्षेत्रका नेताको ताँती थियो ।
अधिकांश प्रतिनिधिसभा सदस्य भए पनि उनीहरुले शपथ लिइसकेका छैनन्, त्यसैले उनीहरुको अहिले कुनै राजकीय हैसियत छैन । तर, जननिर्वाचित प्रदेश सदस्यहरुले शपथ लिइरहँदा ती हैसियतविनाका व्यक्तिहरु मञ्चमा गजधम्म बनेका थिए ।
यो भन्दा अझ प्रदेश सभा सदस्यहरुलाई नरमाइलो त्यतिबेला लाग्यो– जतिबेला उनीहरुले नगर/उपमहानगरका मेयर उपमेयरलाई समेत मञ्चमा अतिथि बनाएको देखे ।
‘यो प्रदेश सदस्यहरुको शपथ हो कि गाउँपालिकाका सदस्यहरुको शपथ हो प्रदेश प्रमुखले फरक देखाउन सक्नुभएन’– प्रदेशसभा सदस्य इन्द्रजीत थारुले भन्नुभयो– भद्रगोलरुपमा शपथ ग्रहण कार्यक्रम राखेको देखेर निकै नरमाइलो लाग्यो ।’
प्रदेशसभा सदस्य शंकर पोख्रेलले प्रदेश प्रमुख उमाकान्त झाँसँग भेटेर कार्यक्रम ब्यवस्थित नभएकोमा गुनासो गर्नुभएको छ । ‘उहाँले के गरेको यस्तो प्रमुखज्यू भनेर ध्यानाकर्षण गराउनुभएको छ’– एक प्रदेश सदस्यले भने– ‘शपथ कार्यक्रम निकै भद्रगोल भयो, यहाँका स्थानीय नेता कार्यक्रम ब्यवस्थित बनाउनुभन्दा मञ्चमै अतिथि बन्न व्यस्त देखिए ।’ त्यसो त शपथ लिन केही सांसदहरु भारतीय गाडीमा आएका थिए ।