घोराही,३० पुस । घोराही उपमहानगरपालिकाले ‘नगरको बस्तुगत बिवरण’ निर्माणको कार्य थालनी गरेको छ । उपमहानगरले सामुदायिक सदस्य हित (कमिटेड) नामक संस्था सँगको सहकार्यमा नगरको बस्तुगत बिबरण तयार पार्ने कार्यको थालनी गरेको हो ।
उपमहानगरले अष्ट्रेलियन सरकारको सहयोग र एसिया फाउण्डेशन मार्फत कमिटेडको समन्वय र ईन्टेन्सीप स्टडी एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा नगरको बस्तुगत बिबरण तयार पार्ने काम थालेको हो ।
अबको साढे तीन महिना भित्रमा घोराही उपमहानगरपालिका भित्रको सबै क्षेत्रको बिबरणहरु तयार पार्ने गरि काम सुरु भएको उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभएको छ । नगर क्षेत्रको विषयगत शाखा, बिकास निर्माण, सेवा प्रबाह निकाय सँग धरधुरी सर्बेक्षणबाट विबरणहरु संकलन गरिने भएको हो ।
करिब ३० लाख रुपैयाँ खर्च गरी नगर क्षेत्र भित्रको सबै बिबरणहरु संकलन गर्ने गरी काम थालिएको कमिटेडका कार्यक्रम संयोजक खेचरनाथ आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा संस्थागत विबरण संकलन गर्ने र त्यसपछि घरधुरी सर्बेक्षणबाट जनसंख्या सहितको बिबरणहरु संकलन गरिने संयोजक आचार्यको भनाई छ ।