गणेश ओली
दाङ, २७ पुस । गएको पुस २३ गते तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा टुइनटर विमान आउँदा ठूलो तामझामका साथ स्वागत गरियो । पत्रपत्रिकाले पनि ठूलो ठूलो समााचार छापे । नेताहरुका विचमा पनि आफूले विमान ल्याएको भन्ने प्रतिष्पर्धा नै चल्यो । समाजिक सञ्जालमा खुसी सँगसँगै आलोचनाको ओइरो पनि आयो ; यो जमानामा पनि जावो एउटा प्लेन आउँदा यत्रो हल्ला खल्ला किन ?

international air port dang
तस्वीर : तत्कालिन चरवगिया एयरपोर्टको प्रारम्भिक नक्सा जुन बडाहाकिम दामोदरले २०१८ सालमा हवाइ विभागमा पेश गरेका थिए ।

जसले पहल र प्रयास गरे पनि तुलसीपुरमा विमान आउनु सकारात्मक कुरा हो । तर, अव अरु विकासमा पनि यस्तै प्रतिष्पर्धा होला कि नहोला ? जनताको थप प्रश्न छ नेताहरुलाई । लामो समयदेखि चर्चा र विभिन्न समयमा पहल र प्रयास भएको एरपोर्टकै सन्दर्भमा अर्को पनि तथ्य दाङमा जगजाहेर छ । घोराही उपमहानगरपालिका वडा नं. ११ चारवगीयामा अन्तरािष्ट्रय स्तरको विमानस्थल बनाउने सरकारी योजना । पटक पटक कुरा उठे पनि अहिले अन्तराष्ट्रिय स्तरको हवाईमैदान बनाउने कुरा ओझेलमा परेको छ भने प्रदेश राजधानीको रुपमा दाङ चर्चामा रहँदा अन्तराष्ट्रिय हवाईमैदानको आवश्यकता पनि खड्किएको छ ।

के थियो पुरानो तथ्य ?
पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवं कानुनविद सुदिप गौतमले संकलन गरेको अन्तराष्ट्रिय एरपोर्टको इतिहास यस्तो छ । २००८ सालमा दाङमा हवाइ मैदानको अध्यन गर्न नेपाल सरकारका सल्लाहकारको रुपमा रहेका भारतीय इन्जिनियर र हवाई विभागका इन्जिनियर सहितको एक टोलीले पूरै दाङको तिन पटक हवाइ चक्कर लगायो र हालको चरवगीयानेरको मैदानलाइ एयरपोर्ट वनाउन सकिने सुझाव दिएको थियो । त्यसैको आधारमा २००९ सालमा नेपालगञ्जमा रहेका सरकारी ओभरसीयर बद्रि प्रसाद शर्मालाई त्यस मैदानको स्थिति अध्ययन गर्ने जिम्मा दिइयो । शर्माले त्यहाँ रहेका दुईवटा पिपलको वोट काटेर एउटा सार्बजनिक कुवा पुरेमा एयरपोर्ट बन्न सक्ने सुझाव दिए ।

सोही प्रतिवेदनको सुझाव र नक्साको आधारमा २०११ सालको प्रारम्भमा नेपालगञ्जमा रहेका डिआईजी दिलमान सिंहले दाङ आई पिपलको बोट काटी कुवा समेत पुरेर मैदान तयार गराए । त्यसपछि राजनीतिक खिचातानीका कारण यो विमानस्थलको कुरा आउने सेलाउने चालिरह्यो । ०१७ साल पुष १ पछि फेरि चरवगीया एयरपोर्टको कुरा उठ्यो । सरकारले देशलाई १४ अन्चल ७५ जिल्लामा विभाजन गर्दा भरतमणी र बडाहाकिम दामोदर चरवगीया एयरपोर्ट सन्चालनमा निकै लागे । भरतमणीले २०१८ आश्विन १९ गते चरवगीया एयरपोर्ट संचालनका आधारहरु दिएर एउटा प्रतिवेदन वुझाए भने बडाहाकिम दामोदरले २०१८ असोज १२ र २०१८ मंसिर १ गते गरि २ पटक महेन्द्र शाह इन्टरकलेजको सेक्रेटरीको हैसियतले हवाई विभागमा प्रतिवेदन वुझाएका थिए । तर सुनुवाइ भएन ।

फेरि कसरी उठ्यो कुरो ?
नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगर पर्यटन मन्त्री भएपछि उहाँकै पहल तथा निजी क्षेत्रका अगुवाहरुको सक्रियतामा सोही क्षेत्रमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्न पुनः प्रारम्भिक सर्वेक्षण भयो । तत्कालिन आन्तरिक विमानस्थल विभागका उपनिर्देशक धर्मेन्द्र पाण्डेको नेतृत्व विमानस्थल निर्माणको संभाव्यता अध्ययन भएको थियो । सम्भाव्यता प्रतिवेदनका आधारमा बिडिए कन्सल्टेन्सी काठमाण्डौले बि.सं २०६८ चैत्रमा सो स्थानमा विमानस्थल निर्माण गर्न उपयुक्त हुने भन्दै प्रारम्भिक सर्वेक्षण गरेको थियो । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट , विभागका कर्मचारी, दाङ जिल्ला उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ लगायतको समन्वयमा प्रारम्भिक सर्वेक्षण भएपनि प्रकृयाले गति लिन नसक्दा बिस्तारै सो स्थानमा अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा पुनः ओझेलमा परेको छ ।

के छ सम्भावना ? के गर्न सकिन्छ ?
विष्ट पर्यटन मन्त्री हुँदा उल्लेखित प्रतिवेदनमा गुज्रेखोलादेखि हापुरखोलासम्म विमानस्थल विस्तार हुने भनिएको थियो । तत्कालिन विभागको टोलीले गरेको सर्वेक्षण अनुसार विमानस्थल पाँच किलोमिटर लम्बाई र तीन किलोमिटर चौडाइको रहने प्रतिवेदनमा उल्लेख छ । अनुकुल भूगोल, हावापानीसंगै प्राविधिक अनुकूलताले निकै उत्तम मानिएको दाङमा लामो समयदेखि अन्तराािष्ट्रय विमानस्थल निर्माण गर्ने प्रकृया अगाडि बढाएपनि परिणाम अझै हात लाग्न सकेको छैन । पाँच नम्वर प्रदेशको राजधानी बन्ने सम्भावना भाएको र यसका लागि एउटा अन्तराष्ट्रिय विमान स्थल अनिवार्य मानिएको वेला यस हवाई मैदानको पुनः नागरिकस्तरवाट चर्चा उठेको छ । सो विमानस्थल निर्माणको लागि नीजि क्षेत्र र सरकारले प्रभावकारी ढंगले काम नगर्दा अन्तराष्ट्रिय विमानस्थल बनाउने फाइल त्यसै थन्किएको छ ।

अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने जस्तो राष्ट्रिय गौरवको आयोजना घर आँगनमा आँउदा पनि यस क्षेत्रका राजनीतिक दलका अगुवा, निजी क्षेत्र मौन बस्नु दुखद भएको नेपाल पर्यटन पत्रकार संघ (एन्टाोज) नेपालका अध्यक्ष धनिराम शर्मा (क्रतुविचार) को भनाई छ । विशेष गरि राज्यले दाङलाई हेर्ने दृष्टिकोण, राजनीतिक नेतृत्वले गम्भिरता देखाउन नसक्दा, नीजि क्षेत्रले ध्यान नदिदा र नागरिक दवाव नहुँदा अन्तराष्ट्रिय विमानस्थल वनाउने मुद्दा ओझेलमा परेको शर्माको भनाई छ । सो विमानस्थल निर्माण हुन सके प्रादेशिक राजधानीको संभावनासंगै विश्वको आर्थिक तथा पर्यटन बजारमा दाङलाई सिधा जोड्न सकिने उनको कथन छ । ‘आर्थिक सामरिक महत्वले अर्थ राख्ने दाङमा अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रकृया अगाडि नबढेको त होइन तर जिम्मेवारहरुको हेलचेक्रयाईका कारण विमानस्थल कागजमै थन्किएको छ, उनले भने, ‘विभागमा फाइल बनेर निदाएको छ, फाइललाई अगाडि बढाउने र दबाव दिने कोही नहुँदा विमानस्थलको आयोजना सपनामै कैद भएको छ ।’

यस भन्दा पछि चर्चामा आएका विमानस्थल कति पूर्ण भए भने कति निर्माणधिन छन तर भौगोलिक, वातावरणीय लगाएतका दृष्टिले अति नै राम्रो यहाँको फाईल बन्दै थन्किदै गर्नु दुखद कुरा हो । यसलाई पूर्णता दिन सवै लाग्ने कि !