जाजरकोट, २७ पुस । दुई साता यतादेखि जाजरकोटका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो। भाइरल ज्वरोबाट मंगलबार र बुधबार थप दुई जनाको ज्यान गएको छ।

jajarkot-भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ। त्यस्तै, जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।

स्वास्थ्य शिविरमा राम्रो उपचार नपाएपछि भण्डारी निजी मेडिकलमा गएका थिए। अन्नपूर्ण पोष्टमा खबर छ – त्यहाँ पनि उपचार हुन नसकेपछि झारफुकतिर लागेका थिए।गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन्। उनलाई रुघाखोकी र ज्वरो आएको थियो। समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका ६ जना छन्। जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप वडा नं १, ३, ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट र वडा नं १० सम्म फैलिएको छ। शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ। शिविरमा १२ सय जनाको उपचार गरिएको छ। उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा। शाक्यले जानकारी दिए।

मृत्यु हुनेको संख्या १३ पुग्यो ।

चिकित्सकहरुको टोली प्रकोप क्षेत्रमा पुगेपनि नियन्त्रणमा आउन सकेन ।

‘दिनदिनै बिरामी बढ्दै छन्, धेरैजसो बालबालिका बिरामी छन्। कुपोषित बालबालिकाका, वृद्धवृद्धा र कमजोर आर्थिक अवस्थाकाहरू बढी प्रभावित छन्ु, उनले भने। औषधि नियमित नखाने, बच्चाले औषधि खान मान्दैन भनेर नखुवाउने, धामीझाँक्रीकै भर पर्ने, न्यानो कपडा नलगाउनेजस्ता कारणले प्रभावित बढी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। शिविरमा आएकै बिरामीले नियमित औषधि सेवन नगर्दा चार जनाको मृत्यु भएको चिकित्सकले बताएका छन्।

उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशतचाहिँ कडा र सिकिस्त बिरामी रहेको शाक्यले जानकारी दिए। भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि मंगलबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ।

नेपाली सेनाको टोली प्रभावित क्षेत्रको स्थलगत अध्ययनका साथै सोमबार केही बिरामीको उपचार गरी मंगलबार फर्किएको छ भने नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मीसहितको टोली पनि प्रभावित क्षेत्रमै छ।

डा।शाक्यले भाइरल प्रभावितको संख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताए। निमोनियाविरुद्धको खोप अभावमा सोमबार ३६ दिने शिशुको ज्यान गएपछि थप औषधि मगाइएको छ। भाइरल ज्वरो बढेपछि एचवान्एनवान् अर्थात् कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लुको आशंका गरिएको छ। एचवान्एनवान् भए धेरै ठाउँमा फैलिने खतरा रहन्छ। तत्काल रोग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै खतरा हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।