इन्द्रेणी संवाददाता
काठमाडौँ, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताएका छन् ।

KP-oli-talkingनियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गरे।

ओलीले भने, “नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो तर यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ ।” गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि समानुपातिकतर्फको परिणाम सार्वजनिक हुन बाँकी छ ।

अध्यक्ष ओलीले संविधान कार्यान्वयन र जनताको हितका विषयमा संशोधन गर्नुपर्नेमा नकारात्मक व्याख्या गरेर लोकतन्त्रको गतिलाई अड्काउने काम भएको टिप्पणी गरे ।

निर्वाचनबाट प्राप्त जनताको अभिमतको अवमूल्यन गरेर लोकतन्त्रअघि बढ्न नसक्ने बताउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ता हस्तान्तरणसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नेजस्ता काम मात्र गर्न सक्ने उल्लेख गरे ।