काठमाडौँ, १७ पुस । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।

pmअनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विवादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ ।

अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि बढ्नेछैन । निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ताको समयपछि मात्र निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ ।

सरकारको तयारी र निर्वाचन आयोगले जारी राखेको प्रक्रियाअनुसार कम्तीमा पनि राष्ट्रियसभा निर्वाचनको परिणाम प्राप्त नहुँदासम्म नयाँ प्रधामन्त्री चयन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन । यो समयसीमाअनुसार छिटोमा फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री सिंहदरबार पुग्ने सम्भावना छ । माघसम्म राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम र सदस्य छनोटले नै समय लिने देखिएको छ ।

राष्ट्रियसभा अध्यादेश जारी भएकै दिन गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलअनुसार ढिलामा माघ मसान्तभित्र निर्वाचन हुने गरी मिति तय गर्ने समझदारी बनेको छ । निर्वाचन आयोगले यसबीचमा दल दर्ताको प्रक्रिया सकेर सरकारले तय गरेको मितिअनुसार निर्वाचनको आन्तरिक कार्यतालिका तयार पार्नेछ ।

प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगले माघ २५ भित्र मतदान प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक कार्यतालिका प्रधानमन्त्रीलाई बुझाइसकेको छ । गत शुक्रबार आयोग पदाधिकारीसँगको भेटअनुसार सरकारले प्रक्रिया अघि बढाएमा ढिलामा पुस २० गतेभित्र राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय हुनेछ ।

आयोगले अहिले सरकारले निर्वाचन मिति घोषणा गरेको ४० दिनसम्म प्राविधिक तयारीको समय माग गर्दै आएको छ । तर, दलीय सहमति भएमा उक्त समयसीमा घटाउन सकिने आयोगको विश्वास छ ।

राष्ट्रियसभा कहिलेसम्म ?
माघको तेस्रो साताभित्र राष्ट्रियसभा निर्वाचन सम्पन्न भएमा त्यसको परिणाम प्राप्त हुन बढीमा दुई दिनमात्र लाग्नेछ । निर्वाचक मण्डल सानो हुने भएकाले मतपरिणाम चाँडै आउनेछ ।

तर, राष्ट्रियसभाको परिणामपछि मात्र निर्वाचन आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारीमा छ । उक्त मतपरिणाम सार्वजनिक भएपछि पनि दलहरूलाई समानुपातिक सांसद सिफारिस गर्ने समय दिनुपर्नेछ ।

यस्तै उक्त नामावली मिले नमिलेको आयोगले रुजुसमेत गर्नुपर्नेछ । रुजु गरी उम्मेदवारलाई विजयी घोषणा गर्ने अवधिसम्म एक साता लाग्नेछ । राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभातर्फ समानुपातिकको सिट बाँडफाँट समेतमा माघ मसान्त सकिनेछ ।