चितवन, १७ पुस । पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अङ्ग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका १ सय १० ओटा होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका महासचिव राममणि खनालले बताए । ‘करीब १५÷२० प्रतिशत बाह्य पर्यटक छन’, खनालले भने, ‘अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।”
२०७२ सालको भूकम्प, नाकाबन्दी, नारायण मुग्लिन सडकखण्डको बिग्रदो अवस्था र साउनमा आएको बाढी तथा डुबानका कारण थलिएको सौराहाको पर्यटन अहिले उकासिएको छ । पछिल्ला दिनमा बढेका पर्यटक र नयाँ वर्षका कारण सौराहामा आएका पर्यटकका कारण सौरहाका व्यवसायी उत्साहित बनेका छन् । पछिल्लो समय पोखरा–भरतपुर सिधा उडानले समेत यहाँको पर्यटनमा सहयोग पुगेको व्यवसायी बताउँछन् ।
आइतवार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । सौराहामा सुविधायुक्त १ सय १० होटलमा दैनिक दुई हजार ८ सय पर्यटक राख्न सकिने क्षमता छ । नयाँ वर्ष मनाउन आएका पर्यटक गएराति १२ बजेसम्म सौराहामा विभिन्न सांगीतिक कार्यक्रमको रमाइलोमा भुलेका थिए ।
गएराति सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेण्ट पर्यटकले खचाखच थियो भने यहाँका ठूला होटल आफैँले पनि सांगीतिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए । सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीले पुस ११ गतेदेखि शुरु भएको चितवन हात्ती महोत्सवदेखि नै पर्यटकको चहलपहल बढेकोमा आइतवार भने पर्यटक नयाँ वर्ष मनाउन सौराहामा बढी पर्यटक आएको बताए ।
सौराहामा यसपालि नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रमसमेत राखिएको थियो । पर्यटकले कार्यक्रममा भरपुर मनोरञ्जन लिए । सौराहाका पर्यटन व्यवसायी तथा चितवन भिलेज रिसोर्टका सञ्चालक राजेन्द्र भण्डारीले नयाँ वर्षमा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहेको बताए ।
काठमाडौँबाट नयाँ वर्ष मनाउन आएका प्रणव सुवेदीले यसपटक सौराहामा साह्रै रमाइलो भएको बताए । मुख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुङ्गा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जङ्गली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो । रासस











