कालिकोट, ९ पुस । कालिकोट जिल्ला प्रशासनले शनिबार अपराह्न बजेदेखि अर्को सूचना नभएसम्म निषेधाज्ञा (कफ्र्यू आदेश) जारी गरेको छ । म्यादी प्रहरीमा कार्यरत १९ वर्षीय विवेक ऐडीको प्रहरीको गोलीबाट मृत्यु भएको भन्दै जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।

medddddशुक्रबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा म्यादी प्रहरीले आफूले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलन गरेपछि भएको झडपमा गोली लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएपछि आन्दोलन थप चर्किंदै गएको छ ।

घटनाको तत्काल छानबिन, दोषीलाई कडा कारबाही, मृतकलाई शहीद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्तिलगायतका मागसहित शनिबार बिहानैदखि मान्म बजार आन्दोलित छ । बजारमात्र होइन, आसपासका क्षेत्र र कर्णाली राजमार्गमा टायर बाल्नुका साथै दिउँसो जिल्ला प्रशासन कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रशासनले बजार क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

प्रजिअ गैरेका अनुसार क्षेत्रीय प्रशासक सुरेश प्रधान, डीआईजी सुरेशविक्रम प्रधान, अनुसन्धानका डीआईजी टेकेन्द्र्र कार्कीसहितको टोली कालिकोट आएर जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका बेला प्रशासनमै ढुङ्गामुढा गरी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थिति नियन्त्रण गर्न कफ्र्यू लगाइएको हो ।

शनिबार भएको झडपमा प्रहरी र म्यादी तथा स्थानीय गरी कम्तीमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।  शनिबार नै बसेको सर्वदलीय बैठकले तत्काल गृह मन्त्रालयबाट छानबिन समितिको माग गर्दै जिल्ला समन्वय समितिमार्फत निर्णय पठाएको छ ।