इन्द्रेणी संवाददाता
दाङ, ७ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विप्लव नेतृत्वको माओवादी र नेपाली काग्रेसबीच चुनाव भाँड्ने तालमेल भएको बताएका छन् । आज विहीबार विहान दाङको घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दोलखामा दुई पार्टी सयुक्त बैठक वसेर यस्तो तालमेल गरेको खुलासा गरे ।

photo kpउनले सो बैठकबाट मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन विरोधी गतिविधि गर्ने तालमेल भएको बताए । तर निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ओलीको दावी थियो ।

सरकारमा रहेको काग्रेसले विभिन्न स्थानमा उम्मेदवारलाई लक्षित गर्दै बम विष्फोटलगायतका चुनाव विरोधी गतिनिधि भइरहेपनि त्यसलाई रोक्नुको उल्टो प्रोत्सान गर्ने गरेको अध्यक्षको आरोप थियो । यस्ता गतिविधिमा संलग्नलाई कारवाही गर्नुको उल्टो विभिन्न वहानामा छोडदै गएको र यसले निर्वाचन विरोधी गतिविधि गर्दै आएको तत्वलाई प्रोत्सान मिलेको उनको भनाइ थियो ।

बाम गठबन्धनका बारेमा पत्रकारहरुले उठाएको जिज्ञासको जवाफमा अध्यक्ष ओलीले अब वाम गठबन्धनको एकताबाट देशमा राजनीतिक स्थायित्व कायम हुने बताए । ‘हाम्रो गठबन्धनले देशमा स्थाई सरकार स्थापना हुनेछ । यसबाट विकासले गति लिने छ,’ ओलीले भने, अब समृद्धिका हिसावले देश नयाँ युगमा प्रवेश गर्नेछ ।’  उनले अबको चुनावमा बाम गठबन्धनलाई दुई तिहाइ वहुमतले जित्न कसैले नरोक्ने पनि बताए ।