दाङ, २१ कार्तिक । रोटरी ईन्टरनेशलन डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर संजय गिरीले रोटरीले सेवामुलक कार्यमा विशेष जोड दिनुपर्ने बताउनु भएको छ । यसको लागि पहिला क्लब बलियो हुनुपर्ने र नियमित रुपमा सदस्य थप गर्दै लग्नुपर्ने उहाँको धारणा थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीको अफिसियल क्लब भिजिट कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरीले क्लबले गरेका सम्पूर्ण गतिबिधीहरु उल्लेखनिय रहेको र विशेषगरी समाजसेवा र मानविय धर्म प्रति लक्षित रहेर क्लबले संचालन गरेको एम्बुलेन्स सेवा, रोटरी सामुदायिक क्लिनिक, बाढिपीडितलाई गरेको आर्थिक सहयोगको खुलेर प्रशंसा गर्नु भएको थियो । गिरीलाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले खादा ओढाएर सम्मान एवम् स्वागत गर्नु भएको थियो भने रोटरियन दुर्गा बहादुर केसीले प्रमुख अतिथी गिरीको जीवनी वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका क्लबका अध्यक्ष तुफानवावु श्रेष्ठले प्रमुख अतिथी गिरीलाई मायाको चिनो प्रदान गर्दै डिष्ट्रिकले सारेको योजना मुताविक सामाजिक कार्यमा क्लब अघी बढिरहेको बताउनु भएको थियो । क्लबका पूर्व अध्यक्ष बिजय केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा डिष्ट्रिक ३२९२ कि फष्ट लेडी संगिता गिरी, जोन १८ का असिष्टेन्ट गभर्नर कुशल तर्ताल लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो भने क्लबले गरेका बिभिन्न गतिबिधीहरुको प्रतिवेदन रोटरियन बिष्णु कुमारी केसी, देवेन्द्र केसी, उज्जवल श्रेष्ठ र राजिब वलीले प्रस्तुत गर्नुभएको थियो ।
महासचिव डम्बर बहादुर डांगीले सहजिकरण गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसै बिच सोही कार्यक्रममा रोटरी फाउन्डेसनमा ३०० अमेरिकी डलर योगदान गर्नुभएका क्लबका पूर्व अध्यक्ष धर्मेन्द्र वैश्य, ललित बहादुर घर्ती, विर बहादुर रावत र अध्यक्ष तुफानबाबु श्रेष्ठलाई प्रमुख अतिथी गिरीले पिएचएफ पिन लगाएर सम्मानित गर्नुभएको थियो । क्लबले मासिक रुपमा प्रकाशन गर्दै आएको बुलेटिनको पनि बिमोचन गरिएको थियो ।











