भरतपुर १८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले काठमाडौं उपत्यकालाई जाम र धुवाँधुलोमुक्त बनाउन राजधानी नै सार्नुपर्ने बताएका छन् । भक्तपुर ट्रक व्यवसायी संघको १८ औं साधारणसभा शुक्रबार उद्घाटन गर्दै बिजुक्छेले मुलुकलाई संघीयतामा लानुपर्ने आवाज उठ्न थालेपछि दस वर्षअघि नै नेमकिपाले पश्चिम तराईस्थित दाङमा राजधानी सार्नुपर्ने प्रस्ताव गरेको स्मरणसमेत गराए ।
आफूले राजधानी सार्नुपर्ने प्रस्ताव गर्दा ठूला दलका नेताहरूले आफूहरूलाई काठमाडौंबाट लखेट्न लागेको भन्दै आक्रोश पोखेको सुनाए । उनले राजधानी सार्न नसकिए नयाँ गाडी किन्ने तथा दर्ता गर्ने कार्य बन्द गर्ने नीति ल्याउन सकिने सुझाए ।
कार्यक्रममा नेपाल प्रहरीको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनालले यातायातको क्षेत्रमा कुनै पनि गुन्डागर्दी र मनोमानी चल्न नदिने बताए । ‘यातायात क्षेत्रमा धेरै समस्या छन् ।
यहाँ यातायात व्यवसायीको गुन्डागर्दी र मनोमानी पनि छ’, डीआईजी खनालले भने, ‘तर अब यातायात क्षेत्रमा कुनै पनि गुन्डागर्दी र मनोमानी चल्न दिइँदैन ।’ अन्नपूर्ण दैनिकबाट
