काठमाडौं, १२ कात्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिले जम्मा १२८ निर्वाचन क्षेत्रमध्ये ११५ निर्वाचन क्षेत्रको बाँडफाँड शनिवार नै टुंगो लगाएको छ । क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो ।
कार्यदलले केही दिनमा बाँकी ५ जिल्लाका १३ क्षेत्रको बाँडफाँट टुग्यो लगाउने क्रममा छ । कुल निर्माचन केन्द्रमा एमालेले ६८, माओवादी केन्द्रले ३६, स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति संयोजन समितिमा भएको छ । पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए ।
टुंगिन बाँकी जिल्लामा झापा र सुनसरीमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दुई दुई सिट दाबी गरेको छ । उदयपुरमा प्रतिनिधिसभा र प्रदेश सभाको पनि टुंगो लागेको छैन ।त्यस्तै, चितवन २ र सल्यानमा दुवै दलले प्रतिनिधिसभामा दाबी गरेका छन् । सल्यानको प्रतिनिधिसभा छाड्न तयार भए पनि एमालेले प्रदेश सभाको दुवै सिटमा अडान राखेको छ ।
त्यस्तै, महोत्तरी–१ प्रदेशतर्फको सिट पनि टुंगो लाग्न बाँकी छ । दाङ–२ माओवादीले लिने र प्रदेशमा एमाले नेता शंकर पोखरेलले उम्मेदवारी दिने गरी संयोजन समितिमा समझदारी बनेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई अघि सारेको छ ।
त्यस्तै, दैलेख र सुर्खेतमध्ये एउटा जिल्लामा माओवादी केन्द्रले प्रतिनिधिसभा पाउनुपर्ने अडान कायम राखेको छ । एमालेले भने सल्यान छाड्न तयार रहेको, तर पकड रहेको दुई जिल्लामा प्रतिनिधिसभा आफैँले राख्न पाउनुपर्ने अडान राखिरहेको स्रोतले जनाएको छ ।
