काठमाडौं, १० कार्तिक । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनुपर्ने भए पनि हुन सकेन ।

Elction-nप्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा अन्योल बढेपछि मतपत्र छपाइको काम नै स्थगित भएको छ । तर आयोगले मतपत्र छपाइ स्थगित भएकोबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन ।

आयोगका प्रवक्ता नवराज ढकालले कार्यतालिका अनुसार नै काम भैरहेको दावी गर्दै समानुपातिकतर्फको मतपत्र छपाइको काम थोरै बाँकी भएकाले त्यो सकिने बित्तिकै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिए ।

समानुपातिकको मतपत्र छपाइ सकेर प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी भैरहँदा सर्वोच्च अदालतको आदेशले आयोग नै अन्योलमा परेको देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै छाप्न बाध्य पार्ने गरी कारण देखाउ आदेश दिएको छ भने सर्वोच्चको आदेशबारे आयोगका पदाधिकारीबिच छलफल भएपनि मतपत्र एउटै छाप्ने कि छुट्टाछुट्टै भन्नेबारे निर्णय हुन सकेको छैन ।