काठमाडौं, ८ कार्तिक । छठ पर्वको मुख्य दिन बिहिवार बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछreceived_1507532285981465

। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।

फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।

सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको कमलपोखरी छठ व्यवस्थापन समितिका उपाध्यक्ष जीतेन्द्र झाले बताउनुभयो ।

‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ’ उहाँले भन्नुभयो ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।