कार्तिक ३ । दिपावली गर्नेक्रममा सर्लाहीका विभिन्न स्थानमा आगलागी भएको छ । गएसाँझ दिपावली गर्न बालिएको मैनबत्तीबाट आगो सल्किएर जिल्लाको तीन बेग्लाबेग्लै स्थानमा आगलागी हुँदा अन्दाजी साँढे १७ लाख बराबरको धनमाल जलेर नष्ट हुनुका साथै एक जना मानिस समेत आगोले जलेर घाईते भएका छन् ।

जिल्लाको गोडैता नगरपालिका–१२ मधुवनी गाउँमा सुनिल यादवले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा साँढे तीन लाख बराबरको सामान जलेर खरानी भएका छन् । आगो निभाउने क्रममा जलेर घाईते भएका सोही ठाउँका २८ वर्षका उपेन्द्र महतोको जिल्ला अस्पताल मलंगवामा उपचार भैरहेको छ ।

यस्तै जिल्लाको रामनगर गाउँपालिका–७ डुमरिया चौकमा राममिलन रायको घरमा त्यही ठाउँका सरोज कुमार रायले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ८ लाख बराबरको सरसमान जलेर नष्ट भएको छ । यसैगरि सर्लाहकिो कविलासी नगरपालिका–६ जमुनियाँ टोलका मोहन रायको किराना पसलमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका यी तीन घटना बाहेक जिल्लामा सामान्य रुपमा दिपावली सम्पन्न भएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँ ले बताउनुभयो ।