इन्द्रेणी संवाददाता
काठमाडौं, २५ कात्तिक । तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार आज घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गर्ने गरिन्छ। आज साँझ घरको मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने प्रचलन चलि आएको छ।
गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्ने गर्दछन्। लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास समेत रहेको छ। यसैदिन साँझ किशोर–किशोरीले समूह बनाई घरघरमा भैलो खेल्ने गर्दछन्।
यसरी भैलो माग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा र नैवेद्य दिने चलन छ। यमपञ्चकको चौथो दिन भोलि बिहान गोबद्र्धन र गाईपूजा गर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पाँचौ तथा अन्तिम दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई पूजा गरी भाइटीका मनाउँछन्।