काठमाडौँ ६ असोज । समाज कल्याण परिषदले हरेक वर्ष मनाउँदै आएको सामाजिक सेवा दिवश यस वर्ष पनि धुमधामका साथ सम्पन्न गरेको छ । यही असोज ४, ५ र ६ गते तीन दिनसम्म मनाइएको उक्त दिवशको अन्तिम दिन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३८औँ राष्ट्रिय सामाजिक सेवा दिवश समारोह सम्पन्न भयो।

समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संस्थाहरूको कार्यक्रमलाई सार्थक परिणाम आउने गरी परिचालन गर्न नीतिगत व्यवस्था निर्माण गर्नुपर्ने बताउनुभयो ।

4

कार्यक्रममा राष्ट्रपति भण्डारीले गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै त्यसको गुणात्मक पक्षलाई समेत आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । ‘संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, गैरसरकारी संस्थाका गतिविधि र उपलब्धिलाई सार्वजनिक गर्ने, कामलाई संस्थागत गर्ने र मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा संघसंस्थालाई निष्पक्ष, पारदर्शी र जवाफदेहीलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो ।

सम्बोधनका क्रममा राष्ट्रपतिज्यूले वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण तथा शिक्षादीक्षा, राहत र उद्धार जस्ता परोपकारका कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सेवा दिवशलाई वार्षिक उत्सवका रूपमा मात्र नभई समाजसेवी संघसंस्थाहरूले आफूले गरेको कामको समीक्षा गर्ने र आगामी योजना तर्जुमा गर्ने अवसरका रूपमा समेत लिन सुझाव दिनुभयो ।

21905725_1640013209406483_1659391993_n

सामाजिक सेवा दिवश समारोहलाई सम्बोधन गर्दै माननीय महिला, बालबालिकातथा समाज कल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसैनले सामाजिक रूपान्तरणका पक्षमा समाज सेवाको ठूलो भूमिका भएको बताउनुभयो । ‘सामाजिक क्षेत्रमा भए गरेका कामले अहिले महिला, दलित तथा सामाजिक रूपमा उपेक्षित र उत्पीडित समुदायलाई राज्यको मूल प्रवाहमा आउन सहायोग पुगेको छ’, उहाँले भन्नुभयो, ‘सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा सामाजिक संघसंस्थाहरूको भूमिका बढाउँदै विशुद्ध समाज सेवालाई अझ अगाडि बढाउन सबैको भूमिका आवश्यक छ ।’

समारोहमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमकुमार राई, परिषद्का कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, परिषद्का उपाध्यक्ष नीलमणि बराललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सदस्य सचिव डिल्लीप्रसाद भट्टले आ।व। ०७३/ ०७४ मा परिषद्ले सम्पन्न गरेका कार्यक्रहरूको संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा प्रधानसेनापति, प्रहरी निकायका उच्चपदस्थ अधिकारी, विभिन्न कूटनीतिक निकायका प्रतिनिधि, सरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, समुदायका प्रतिनिधिलगायतको ठूलो उपस्थिति रहेको थियो।

पुरस्कार प्रदान
सामाजिक सेवा दिवशका अवसरमा परिषद्ले विभिन्न समाजसेवीहरूलाई पुरस्कृत गरेको छ । निस्वार्थ भावले सामाजिक सेवाका माध्यमबाट समाजमा रहेका अशक्त, असहाय, गरिब, सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणमा योगदान पुगोस् भन्ने हेतुले स्थापना भएको ‘समाजसेवी पुरस्कार’ तथा यस क्षेत्रमा उत्कृष्ट काम गर्ने सामाजिक संघसंस्थालाई ‘तुलसी मेहर समाजसेवा पुरस्कार’ समाजसेवाको क्षेत्रमा सक्रिय विभिन्न सात जना व्यक्ति र एक संस्थालाई प्रदान गरिएको थियो ।
21912812_1640011469406657_1504554226_n

यस वर्षको नगद १ लाख रुपैयाँ र प्रशंसापत्र भएको ‘तुलसी मेहर समाजसेवा पुरस्कार’ महिला हिंसा, बेचबिखन, पुनःस्थापना तथा हेरचाहका क्षेत्रमा विगत २५ वर्षदेखि काम गर्दै आएको संस्था एबीसी नेपालले प्राप्त गरेको थियो ।

यसैगरी समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनुहुने शान्ता श्रेष्ठ, संगीता पन्त, हारुन खान, होमनाथ अधिकारी, नजरुल हुसेन पलाही, कोपिला खतिवडा र विधाकरप्रसाद साहलाई समाजसेवी पुरस्कार प्रदान गरिएको थियो ।