काठमाडौं, २९ भदौ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली कङ्ग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले सो कार्य निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
त्यस्तै सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीतको भएको भन्दै आयोगले कङ्ग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते कङ्ग्रेस र नेकपा ९माओवादी केन्द्र०ले निकालेको संयुक्त चुनावी र्यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्दै आयोगले र्यालीका आयोजकलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्लाबेग्लै निर्देशन दिएको जानकारी दिएको छ ।
यसैबीच आयोगले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचासंहिताविपरीतका कार्य भइरहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न प्रमुख सात राजनीतिक दलसँग आग्रह गरेको छ । आयोगले बुधवार कङ्ग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन आग्रह गरेको हो । रासस











