काठमाडौं, १९ भदौ । नेपालको राजधानी काठमाडौं अबैध सुन तस्करीको ट्राञ्जिट प्वयन्ट बन्दै गएको छ । आज विहान मात्रै महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । एकपछि अर्काे सुन तस्करीका घटना हुँदै गएपछि राजधानी अबैध सुन तस्करीको ट्राञ्जिट प्वयन्ट बन्दै गएको पुष्टि भएको छ ।
गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि गएराती देखि नै निगरानी गरेको प्रहरीले सोमबार विहान चालकसहित नियन्त्रणमा लिएको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मकवानपुरका मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरीले जनाएको द्ध ।
नेपाल भारत सुन तस्करीमा तीन तहको घेरा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको दावी छ । पहिलो तहका कारोबारी कतार दुबई, हङकङ र तिब्बत चीन कमाण्ड सम्हाल्छन् । उनीहरुले नेपालको विमानस्थल वा भूभागसम्म ल्याइ दिने मात्रै काम गर्छन् ।
दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन् । दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ताहरु हुन्छन । उनीहरुको यसमा लगानी हुदैन। उनीहरु रसुवा हुँदै सुन भित्र्याउने र हङकङ तथा कतार, दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन् । तस्करी भएको सुन नेपाली बजारमा होइन भारतीय बजारमा जाने गरेको प्रहरीको भनाइ छ ।










