दैलेख, १८ भदौ । दैलेखमा एक युवतीको बलात्कारपछि हत्या गरिएको छ । कालिकोट जानका लागि हिडेकी ती युवतीलाई ट्रक चालकले एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेको र बलात्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।
ना ५ ख १८८७ नम्वरको ट्रक चालकले खिड्कीजिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीको अनुसन्धानले देखिएको छ ।
प्रहरीका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेको र तेश्रो दिन शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएर हत्या गरेको खुल्न आएको छ ।
शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा प्रहरीले पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । युवतीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।