घोराही, १६ भदौ । घोराही उप महानगरपालिकाको वडा नं. ५ मा बाढीले पुराएको क्षतिको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अगुवाईमा विभिन्न स्थानमा पुल र अन्य योजनाहरुको अनुगमन गरिएको थियो ।

सोही क्रममा घोराही उप महानगरपालिकाको वडा नंं ५ र ७ जोड्ने सिसहनिया पुल खतरायुक्त रहेको, घोराही ५ धर्ना सितलपुरमा रहेको झोलुङ्गे पुलमा जाने बाटो भत्कीएको, नैनवार–छोट्की मोहडा पुल खतरामा रहेको पाइएको जिसस प्रमुख नेपालीले बताउनुभयो ।

यस्तै गोठ्लीगाउँको पहिरोका कारणले गर्दा समस्या रहेको पाइएको पनि उहाँले बताउनुभयो । यसैगरी वडा नं. १३ को सेवार खोलामा रहेको घाटमा जाने बाटोको पनि अनुगमन गरिएको थियो । बाढीले विभिन्न स्थानमा क्षति पुराएको भन्ने गुनासो आएपछि अनुगमनमा गरिएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कुलवहादुर जिसीले बताउनुभयो ।

अनुगमनमा जिल्ला समन्वय समितिका उप प्रमुख श्रीधर पौडेल, सदस्य लिला पुन, लोकी विश्वकर्मा, स्थानीय विकास अधिकार जिसी, जिल्ला इञ्जिनियर सहदेव प्रसाद भण्डारी र ओभरसिएर रितेष गुप्ताको सहभागिता थियो ।

अनुगमन पछि विभिन्न योजनामा सहयोग गर्नका लागि विभिन्न निकायसंग समन्वय गरिने जानकारी दिइएको जिससका सदस्य लोकि विश्वकर्माले बताउनुभयो । जिससबाट विभिन्न निकायसंग समन्वय गरेर निर्माणको काम अघि बढाउने बारेमा स्थानीयसंग कुरा भएको विश्वकर्माले बताउनुभयो ।