इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज भव्यताका साथ मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । गएराती दरखाने र आज ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भाद्रशुक्ल द्वितीयाका दिनदेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।

धर्मग्रन्थ अनुसार पिता हिमालयले पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन खोजेका थिए । तर, पार्वतीले शिवलाई पतिका रूपमा ग्रहण गर्ने बताएर व्रत बसिन् । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ । सोही बेलादेखि तीजको व्रत बस्न थालिएको धर्मग्रन्थमा उल्लेख छ ।
सोही कारण अविवाहित महिलाहरू असल पति पाउने आकांक्षामा यो व्रत बस्ने र विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै व्रत बस्ने र शिवको पूजाअर्चना गर्ने परम्परा छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा समेत जानकारी पाउन नसक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ ।
तीज पर्व दिदीबहिनी बीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ ।
मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ । तीजकै अवसरमा दाङ लगायत देशभरका विभिन्न मन्दिर तथा सार्वजनिक ठाउँहरुमा रमाइलो गर्न नाचगान, मेला तथा प्रतियोगिता समेत आयोजना गरिएको छ ।










