रुकुम, ४ भदौ । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ ।
काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ खदी पुगेको चिकित्सकको टोलीले उक्त रोग भाइरल ज्वरो रहेको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय नन्दलाल महतोले जानकारी दिए । यो मौसममा खानपानमा विषेश ध्यान दिनुपर्ने भए पनि स्थानीयले यसमा ध्यान नदिएका कारण भाइरल ज्वरोको प्रकोप फैलिएको बताएको छ ।
शनिबार साँझसम्म खदीमा मात्र २५० भन्दाबढी भाइरल ज्वरोका बिरामीको उपचार गरिएको छ भने जिल्ला अन्य विभिन्न स्वास्थ्य संस्थामा २०० भन्दाबढी बिरामीको उपचार भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमा आएको महतोले बताए । अहिलेसम्मको जाँचबाट बिरामीमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।
सबै ठाउँमा समयमै उपचार शुरु गरिएकाले यसले थप रुप लिन नपाएको बताइएको छ । दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा स्थानीयमा ज्वरोको प्रकोप फैलिएको चिकित्सकले बताएका छन् । जिल्लाका प्रायः सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि आउनेक्रम अझै जारी रहेकाले यो संख्या बढ्ने अनुमान गरिएको छ ।
रोल्पामा भाइरल ज्वरोका बिरामी बढे
केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५/२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ ।
बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले उनले बताए । भाइरल ज्वरो मौसमी समस्या भए पनि यसपटक विगतको तुलनामा बढिरहेको डाँगीले बताए ।
यसैगरी जिल्लाका स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रगतमासीका बिरामीहरु पनि बढेको बताइएको छ । झाडापखालाका कारण उपचार गर्न जिल्ला अस्पतालमा मात्र दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको बताइएको छ । वर्षात्को फोहर पानीका कारण टाइफाइड र कमलपित्त पनि देखिन थालेकोे उनले बताए । रासस
भाइरल ज्वरोका लक्षणहरूः
-एक्कासि ज्वरो बढ्ने र रोकिने
-चिसो महसुस हुनु
-हल्का खोकी लाग्नु
– घाँटी दुख्नु
– हाँच्छिऊ आउनु
– नाकबाट पानी आउनु
– टाउको, शरीर तथा हाडजोर्नी दुख्नु
– हातखुट्टामा सिल्का हान्नु र कमजोरी महसुस हुनु
– अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु
– आँखा रातो हुनु
– वाकवाकी लाग्नु
– वान्ता हुने, पेट मडारिनु,
– बेसुरोपना देखा पर्नु
– झाडापखाला लाग्नु आदि ।