मसँगैका साथीहरु आजभोलि पेन्सन थाप्छन् । म चाहिँ आफ्नो बैंश र जीवनको उर्बर समय पत्रकारितामा खर्चिएँ अनि मिडिया मालिक र सम्पादकीय नेतृत्वको विवेकहीन र निर्दयी निर्णयले सडकमा पछारिएँ । यो उदाहरण मेरो हो तर आम नेपाली श्रमजीवी पत्रकारहरुको जीवनको कटु यथार्थता । यस्तो कहालीलाग्दो अवस्था नेपाली श्रमजीवी पत्रकारहरुले कहिलेसम्म भोग्नुपर्ने हो ? के उसको कुनै भविष्य छैन ? अहोरात्र खटिएर समाजलाई सुसूचित र राज्यलाई खबरदारी गरेवापत पाउने सजाय उसको अन्धकारपूर्ण भविष्य नै हो ? श्रमजीवी पत्रकारहरुको पेशागत दक्षतालाई उच्च प्राथमिकता दिँदै पेशागत सुरक्षा र सुरक्षित भविष्यको जग बसाल्न सकिँदैन ?

udaya gm 922

पछाडि हेर्दा गर्विलो इतिहास र अगाडि हेर्दा सुन्दर बिहानी हुनुपर्छ श्रमजीवी पत्रकारको । आफ्नो विगतलाई धिक्कार्दै कुरुप भविष्यलाई झेल्न वाध्य श्रमजीवी पत्रकारहरुले पनि पेशागत सुरक्षाको ग्यारेण्टी र सुन्दर अनि सुरक्षित भविष्यको कल्पना गर्न सक्छन् ? हो, प्रयास गर्ने हो भने नेपाली श्रमजीवी पत्रकारहरुले त्यस्तो सपना देख्न सक्छन् र वास्तविक जीवनमा अनुभूत गर्न सक्छन् ।

“पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पहरेदारी : सशक्त र साझा छाता संगठनको प्रत्याभूति, हाम्रो एकता र समझदारी” भन्ने मूल नाराका साथ आएको “लोकतान्त्रिक–प्रगतिशील–समावेशी व्यवसायिक प्यानल” तपाईसामु उपस्थित छ । जुझारु, कर्मठ र स्वप्नदर्शी पत्रकारका नेता गोविन्द आचार्यको नेतृत्वमा रहेको हाम्रो प्यानल हाम्रा सबै अग्रजहरुले आफ्नो कोखेलामा च्यापेर हुर्काएको र यहाँसम्म ल्याइपुराएको महासंघको यात्रालाई आधुनिक परिवेशमा अगाडि बढाउन चाहन्छ । अत्यन्त पेचिलो बन्दै गएको श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा र सुरक्षित भविष्यका लागि यो प्यानलसँग सुस्पष्ट भिजन छ । हामी पत्रकारितामा आउने भावी पुस्ताको जीवनमा सुरक्षित र सुन्दर भविष्य हस्तान्तरण गर्न चाहन्छौं र यो पेशालाई मर्यादित र सम्मानित बनाउन चाहन्छौं ।

मुख्यतः श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा र सुरक्षित भविष्यका लागि केही पहल लिन सकियो, केही प्रयास थाल्न सकियो भने पक्कै पनि यो श्रमजीवी पत्रकारहरुका लागि निकै ठूलो उपलव्धि हुनेछ । त्यसपछि नेपाली पत्रकारिता आकर्षक पेशाको रुपमा विकसित हुनेछ । “पेशागत दक्षता, पेशागत सुरक्षा र श्रमजीवी पत्रकारहरुको सुरक्षित भविष्य” यत्ति कुरा हो मेरो दुई दशक लामो पत्रकारिता जीवनमा भोगेको कथाव्यथाहरुको सार । यही कुरालाई मुटुभरि साँचेर यो विषयमा गम्भीरतापूर्वक र उत्साहपूर्ण तरिकाले केही कदम चाल्नैपर्ने सोचका साथ मैले पनि आदिवासी÷जनजाति सचिवमा उम्मेदवारी दिएको छु । आशा छ, तपाईंको अमूल्य एक भोट दिन हात कमाउनु हुने छैन ।

उदय जीएम
सचिव ( जनजाति ) पदको उम्मेदवार

नेपाल पत्रकार महासंघ