काठमाडौँ, १३ असार । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले मतदातालाई निर्धक्क भएर मतदानमा सरिक हुन समेत आग्रह गरे । यो निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यो निर्वाचनका लागि निर्धारण गरिएको आठ हजार ३६४ मतदान केन्द्रमा गई मतदाताले बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।डा यादवले भने, “निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो अमूल्य मत सात जना उम्मेदवारलाई प्रदान गर्न सबै मतदाता महानुभावसँग आयोग आग्रह गर्न चाहन्छ ।”