रबिन्द्र यादव 

नवलपरासी १३  असार । भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा – ७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन ।

उनिहरुको भारतमा रहेको आफन्तको मृत्युमा मलामी आफ्नो बुवा संगै गएको बेला पनियहवा रेलको पुलमा दुई जना सेल्फी लिदै थिए कि अचानक पछाडिबाट गोरखपुर नरकटियागंज जादै गरेको पैसेन्जर रेल संख्या ५५०७२ नम्बरको रेलगाडीको चपेटामा परेका थिए र घटनास्थल मै दुबै जनाको मृत्यु भएको थियो । दुबै जनाको शव भारतीय प्रहरीले आफ्नो कब्जामा लिएर पडरौना पोस्टमार्टमका लागि पठाएको भारतीय संचार माध्यमले जनाएका छन् ।

मृतकको सनाखत उनिहरुको पर्स बाट भेटिएको वेस्टर्न युनिएनको कागजमा लेखिएको नेपालको ठेगाना र उनिहरुको मोबाइलमा रहेको दुई नेपाली सिमबाट भएको छ । मृतक गाउँका स्थानीय धर्मेन्द्र जयसवाले दिएका जानकारी अनुसार शिवेन्द्र कुर्मी एक स्थानीय विद्यालयका शिक्षक समेत हुन । मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको छ भने सिंगो गाउँ नै शोकाकुल मा डुबेको छ ।