तुलसीपुर,२१ जेठ । दाङको तुलसीपुरमा हतियार बनाउँदै आएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट केही हतियार समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालिका ४ सिमखोलीका ६३ बर्षीय बिक्रम बिक रहेका छन् । उनको साथबाट ४ थान नलकट्टा पेस्तोल र २ थान भरुवा बन्दुक बरामद गरिएको एसपी सिंहले जानकारी दिए ।
२०४५ सालदेखि नै हतियार बनाउदै आएको बिकले प्रहरी समक्षा बयान दिएका छन् । साथै उनले एउटा हतियारको तीन देखी सात हजार सम्ममा बिक्रि गर्दै आएको प्रहरी समक्ष बयान दिएको स्रोतले बताएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङ बाट साधा पोशाकमा खटियको प्रहरी टोलीले शनिवार दिउँसो हतियार सहित पक्राउ गरेको हो । प्रहरीको उक्त टोलीले बिकलाई हतियार बनाउँदै गरेको अबस्थामा फेला पारी पक्राउ गरेको एसपी सिंहले बताए ।
प्रुसुदिप बुढाका अनुसार थप १७ थान भरुवा बन्दुकको नाल, नलकट्टा पेस्तोलको नाल ७ थान, ५।५६ बुलेट ९ थान, ७।७२ बुलेट १ थान, बारुद २ केजी बरामद भएको छ । त्यस्तै आरन पंखा १ थान, हथौडा २ थान, सनासो २ थान र पिन काट्ने कैंची लगायतका औजार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका विकको वारेमा थप अनुसन्धान भईरहेको छ ।











