चितवन, २१ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः निर्वाचन गरिने भएको छ । राजधानीमा खबर छ । मतगणना चलिरहेको बेला गत १४ जेठमा माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि उत्पन्न विवादलाई टुंगो लगाउँदै निर्वाचन आयोगले सो वडामा पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।

Untitled-1 copyमतगणना स्थलमा उपस्थित माओवादी उम्मेदवारका प्रतिनिधिहरुमध्ये केहीले मतपत्र च्यातेर मतगणना स्थललाई रणभूमितुल्य बनाएकाले च्यातिएका मतपत्रलाई अवैध घोषणा गरी पुनः मतदान गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाका क्रममा रहेका मतपत्रमध्ये च्यातिएर नोक्सान भएको मतपत्र संख्या यकिन गरी प्रतिवेदन पठाउन निर्देशन गरिएकोमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई समेत रोहवरमा राखी मतपत्र जाँच गर्दा च्यातिएर नोक्सान भएको मतपत्रको संख्या ९० रहेको भनी उल्लेख भइआएको,’ आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्, ‘प्रस्तुत विषयमा आयोगले अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्ने ।’

आयोगले वडा नम्बर १९ मा पुनः मतदानका लागि नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन समेत दिएको छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा ९५० बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।