रूकुम, ८ जेठ । बालीघरे प्रथा छाडेर यहाँका वादी समुदायका युवाहरूले सामूहिक मादल उद्योग सञ्चालन गरेका छन् । बालीघरे प्रथाबाट जीविकोपार्जन गर्न समस्या भएपछि वादी युवाहरू मिलेर त्रिवेणी गाउँपालिका–२, सिम्रुतु बजारमा आधुनिक मादल उद्योग सञ्चालन गरेका हुन् ।

indaत्रिवेणी वादी मादल उद्योगमार्फत आधुनिक प्रविधिबाट मादल उत्पादन गर्न थालेपछि उनीहरूको आर्थिक स्थितिमा सुधार हुँदै गएको छ । सात जना वादी समुदायका युवा मिलेर मादल उद्योग सञ्चालनमा ल्याएको सञ्चालक बुद्धिमान वादीले बताए । उनले उद्योगबाट दैनिक पाँचओटासम्म मादल उत्पादन हुने बताए ।

व्यक्तिगत रूपमा मादल उत्पादन गर्दा वादीहरूले ज्यालाबापत अन्न लिनुपर्थ्यो, अहिले व्यावसायिक मादल उद्योग सञ्चालन गर्दा नगद कारोबार हुने गरेकाले फाइदा भएको अर्का सञ्चालक गोपाल वादीले बताए । उनीहरूले उत्पादन गरेका मादल दाङ, नेपालगञ्ज तथा काठमाडौंसम्म पुग्ने गरेको सञ्चालकले बताए । स्थानीय बजारमा पनि मादलको माग बढ्दै गएको उनको भनाइ छ । विभिन्न स्थानबाट छाला र काठ खरीद गरी मादल बनाउने गरेको व्यवसायी बुद्धिमान वादीले बताए । ‘बजारको समस्या नभएकाले उद्योग फस्टाउन थालेको छ,’ उनले भने, ‘जिल्लाका विभिन्न स्थानका साथै जिल्लाबाहिरका शहरहरूमा हाम्रा उत्पादनको बजार बढ्दै गएको छ ।’ उद्योगलाई रूपान्तरण नेपाल र रुकुमेली समाज विकास केन्द्रले आर्थिक सहयोग गरेका छन् । वादीहरूले उद्योगकै रूपमा दर्ता गरी व्यवसाय सञ्चालन गरेका छन् ।

‘पहिलेपहिले बाली प्रथामा काम गर्दा जीविकोपार्जनमा समस्या हुन्थ्यो,’ गोपाल वादीले भने, ‘अहिले प्रतिपरिवार मासिक २० हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ ।’ उद्योगमा सातै जनाले मादल बनाउने काम गर्छन् । ‘केही समयपछि सुल्पा र माटाका अन्य भाँडाकुँडाको उत्पादन पनि गर्न थाल्ने योजनामा छौं,’ गोपालले भने, ‘कमाइ राम्रो हुन थालेपछि बचतसमेत शुरू गरेका छौं ।’

पुर्खाहरूले गर्दै आएको परम्परालाई आधुनिकीकरण गरेकाले फाइदा पनि राम्रो हुने गरेको सञ्चालकहरूले बताए । उनीहरूले सरकारी स्तरबाट सहयोग भए पछिल्लो समयमा लोप हुन थालेको आरन व्यवसाय पनि सञ्चालन गर्ने योजना रहेको बताए । बजारमा मादलको मागसँगै मूल्य पनि राम्रो पाएको सञ्चालकको भनाइ छ । रुकुमको बजारमा एउटा मादलको मूल्य १ हजार ५ सयभन्दा माथि पर्ने सञ्चालक बुद्धिमान वादीले बताए । उनले खलो प्रथाभन्दा यो व्यवसायमा बढी आम्दानी र सम्मान पाइने बताए ।
प्रवीर ददेल /अभियान